यो सरकार ढाल्न देउवा लागिरहेका छन्, तर विश्वासको मत दिएर सफल बनाउँछाैँ -ओली

यो सरकार ढाल्न देउवा लागिरहेका छन्, तर विश्वासको मत दिएर सफल बनाउँछाैँ -ओली


सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसदमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । 

नेपालीहरुको बलजफ्तीमा पुष्पकमल दाहाल नेतृत्वको सरकार बनाएको र त्यसलाई विश्वासको मत दिएर सफल बनाउनका लागि पार्टीका सांसदहरुले २६ गते एक मिनेट पनि ढिलाई नगरी संसदमा उपस्थित हुनुपर्नेतर्फ पनि पार्टीका सांसदहरुलाई अध्यक्ष ओलीले सचेत गराए । शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालीहरुको बलजफ्तीबाट वर्तमान सरकार बनेको उल्लख गर्दै त्यसलाई सफल र प्रभावकारी बनाउन आफूले चाहेको पनि पटकपटक दोहो-याए । 

उनले भने, ‘पहिलो कुरा त हामी २६ गते प्रधानमन्त्री माथि प्रतिनिधिसभा बहुमतको विश्वास छ भन्ने कुरा हामीले देखाउनु छ । २६ गते सबै साथीहरु कुनै बट, इफ हँुँदैन । त्यो एकदमै बुझ्न जरुरी छ । हरेक साथीहरु भनेको समयमा संसदमा कोहीकोही दिन यस्ता हुन्छन, जहाँ एक मिनेट ढिला गर्न हुन्न । २५ गते पहिलो दिन, २६ गते विश्वासको मत दिने यस्ता दिनहरुमा एक मिनेट पनि ढिला हुनुहुन्न । समय भित्रै आउने र विश्वासको मत दिने काम गर्नु पर्छ । मैले अघि नै भयो–यो नेपालीहरुले बलजफ्ती बनाएको सरकार हो । यो सरकारलाई हामी सफल सरकार बनाउन चाहन्छौं । यो सरकारलाई हामी उपयुक्त ढंगले गाईड गर्न चाहन्छौं ।’ 

अध्यक्ष ओलीले यो सरकार ढाल्नका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अधिकतम प्रयास गरिरहेको उल्लेख गर्दै सफल हुन नदिने दृढता समेत व्यक्त गरे ।  

‘नेपाली काँग्रेसका सभापति माननीय शेरबहादुर देउवाजीले भन्नु भयो–वी वील कम ब्याक । संकेत उहाँहरुले २६ गते नै आउँछौं भनेको हो । उहाँहरुले यस्तो खुद्रा खेल खेलिरहनु भएको अहिले । पार्टीहरुमा बाँडिरहनु भएको छ प्रधानमन्त्री । एउटा पार्टीको अध्यक्षलाई बोलायो, प्रधानमन्त्री तिमी हुने हो भनेको छ ।’ उनले भने, यो संविधानको धारा ७६ (२)को सरकारले विश्वासको मत प्राप्त गरेन भने स्वतः यो सरकारले विश्वासको मत प्राप्त गरेन भने संविधानको धारा ७६ (३) अनुसार संसदमा सबै भन्दा ठूलो दलको नेताले प्रधानमन्त्रीको नियुक्त पाउँछ । यहाँ यो सरकारले विश्वासको मत नपाउने वित्तिकै वा ७६ (२)को सरकार नबन्ने वित्तिकै वा असफल हुने वित्तिकै त्यो पाउँछ । उहाँहरुको धन्दा अव पाँच वर्ष कुनै कुरामा होइन । यो सरकारको विरोध गर्ने कुरामा रहनेछ । यो सरकार ढाल्ने कुरामा रहनेछ । किनभने उहाँहरु च्याँखे थापेर बस्नु हुन्छ । २३ सिट हुँदा पनि विभिन्न शक्तिहरु, व्यक्तिहरुको प्रयासहरुबाट काँग्रेसले प्रधानमन्त्री लिएको थियो । अहिले पनि उसले यहाँभित्रको अन्तरविरोधमा खेलेर ढाल्न पायो भने फेरी पनि सरकारको नेतृत्व पाउँछ ।’ 

Logo