#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20083655735041641495612933658
नेपाल2331079673816493

अब सिंहदरबार ८.८ रेक्टर स्केलको भूकम्पबाट पनि क्षति नहुने

काठमाडौं,

देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्रको मुख्य भवनको चारै मोहडाको प्रबलीकरण सुरु भएको छ । भूकम्पबाट क्षति भएको सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण गरिएसँगै चारै मोहडाको निर्माण सुरु भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिंहदरबारको मुख्य भवनको पूर्व, उत्तर र दक्षिणी भागको मर्मतसम्भार तीव्र रूपमा गर्दै आएकोमा मंगलबारबाट पश्चिम मोहडाको प्रबलीकरण सुरु गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातात्विक महत्व र पहिचान कायम हुनेगरी सिंहदरबारको प्रबलीकरण सुरु गरेको बताए ।

सम्पदाविद्ले सम्पदाका रूपमा मात्र भएपनि सिंहदरबारलाई प्रबलीकरण गरेर जोगाउन सुझाव दिएका थिए । ‘हामीले त्यो भन्दा अघि बढेर राज्यका महत्वपूर्ण कार्यक्रममा समेत प्रयोग हुनेगरी बलियो र सुरक्षित प्रबलीकरण गर्दैछौं,’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘त्यसैको तयारीले गर्दा पनि पश्चिम मोहडाको काम सुरु गर्न बढी समय लाग्यो ।’

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मा–गौरी पार्वती–न्यु टेक्निकल जेभीबीच एक साता अघि ठेक्का सम्झौता भएको थियो । जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको छ ।

सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडाको १५ महिनादेखि प्रबलीकरण जारी छ । निर्माण व्यवसायीका अनुसार उत्तर, पूर्व र दक्षिण मोहडाको प्रबलीकरणको ७० प्रतिशत कार्य सम्पन्न भएको छ । प्राधिकरणले सिंहदरबारको मुख्य भवनलाई ८.८ रेक्टर स्केलको भूकम्पबाट पनि क्षति नपुग्ने गरी पुनर्निर्माण अन्तर्गत प्रबलीकरणको काम अगाडि बढाएको बताएको छ ।

प्राधिकरणले भूकम्पले चर्काएको सिंहदरबारको मुख्य भवनको पश्चिमी मोहडालाई यस अघि प्रबलीकरण (रेट्रोफिटिङ) गर्ने निष्कर्ष निकालेको थियो । प्राधिकरणले सिंहदरबारको मुख्य भवनको पश्चिम मोहडाको भागलाई पुनर्निर्माण गर्ने तयारी गरेपछि पुनः सबलीकरण गर्ने निर्णय गरेको थियो । प्राधिकरणले सबलीकरणकै आधारमा ८.८ रेक्टर स्केलको भूकम्प आउँदा पनि केही नहुने गरी डिजाइन तयार भएको जनाएको छ ।
राजधानीबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार