नरक चतुर्दशी : नरकको सजाय सत्य वा भ्रान्ति

पुराणहरूमा नरक, नरकासुर र नरक चतुर्दशी, नरक पूर्णिमा आदिको वर्णन पाइन्छ । नरकस्था वा नरक नदी भनेर वैतरणीलाई भनिन्छ । नरक चतुर्दशीका दिन तीलको तेल मालिस गरेर नुहाउनुलाई नर्के नुहाउने भन्ने प्रचलन छ । यो दिन नर्के नुहाएपछि तीलको झिँगटी ताप्ने र यमराजलाई तर्पण गरिने गरिन्छ । नर्के नुहाएपछि नरकको भय रहँदैन भन्ने मान्यता छ ।
अब प्रश्न उठ्छ, के नरक र स्वर्ग छन् त ? नर्कको सजाय सत्य हो कि भ्रान्ति ?

हिन्दू धार्मिक मान्यताअनुसार प्रत्येक व्यक्तिले उसको राम्रो वा नराम्रो सबै कामको परिणाम भोग्नुपर्छ । मानिसले आफ्नो कर्मबाटै स्वर्ग वा नर्कको स्थिति भोग गर्छ । मानिस खराब काम गरे खराब ठाउँ, गति र खराब परिस्थितिमा पुग्दछ भने राम्रो काम गरे राम्रो ठाउँ, गति र परिस्थितिमा पुग्दछ ।

संसारमा अनेकौं प्रकारका जीव छन् । ती सबै आकारप्रकारमा भिन्न छन् । मानिसको आकार अन्य जीवभन्दा फरक मात्र छैन उसको चेतनाको स्तर पनि विशिष्ट छ । तसर्थ ऊ आफूलाई संसारकै श्रेष्ठ जीव भन्दछ । कर्मफलको सिद्धान्तले आफ्नो कर्मअनुसार प्राणी विभिन्न योनिमा जान्छ भन्ने मान्यता राखेको पाइन्छ । यस हिसाबले मानिस कीरा, फट्याङ्ग्रा वा पशुपन्छीको योनिमा समेत पुग्नसक्छ । पुराणहरूका अनुसार जीवात्माले ८४ लाख जुनी (योनि) पार गरिसकेपछि मात्र मानिसको जुनी पाउँछ । पशुपन्छीबाट मानिस जन्म हुनुलाई उध्र्वगति र मानिस पशुपन्छीका रूपमा जन्मनुपर्ने स्थितिलाई अधोगति भनिएको छ । अधोगतिमा पर्नु भनेकै नरकमा गिर्नु हो । तल झर्नु आफैंमा एक सजाय हो ।

जब हाम्रो शरीर रातमा अचेत भएर सुत्छ, अनि हामी किसिमकिसिमका सपना देख्छौँ, हामीले लगातार नराम्रा, डरलाग्दा सपना देख्यौँ भने त्यो नरकको स्थिति हो । यो मरेपछि अधोगति मिल्ने संकेत हो । खासमा आफूले आफ्नो जीवनमा चेतना (जागरण) को स्थिति माथि उठाउने हो कि तल गिराउने हो त्यो आफूमै निर्भर हुने कुरा हो । तल गिराइयो भने निश्चय पनि अधोगति हुन्छ, नीच योनिमा जन्म मिल्दछ ।

भनिन्छ, स्वर्ग पृथ्वीको माथि छ र नर्क पृथ्वीभन्दा तल अर्थात् पातालमा छ । यसलाई अधोलोक अर्थात् तलको संसार पनि भनिन्छ । उध्र्व लोक अर्थात् माथिको संसार वा स्वर्ग । मध्य लोक हाम्रो ब्रह्माण्ड हो, मर्त्य लोक हो, पृथ्वी हो । सामान्यतः उर्ध्व गति, स्थिर गति र अधो गति हुन्छ जुन अगति र गतिअन्तर्गत आउँछ ।

पातालको तल अति धेरै पानी छ र त्यसभन्दा तल नरक रहेको छ भनिन्छ । जसमा पापी जीव स्वतः गिरेर सजाय पाउँछन् ।

त्यसो त नरकको संख्या ५५ करोड बताइएको छ, जसमध्ये २१ वटालाई प्रमुख मानिएको छ ।

महाभारतमा राजा परीक्षित यस सम्बन्धमा शुकदेवसँग प्रश्न सोध्छन् । राजाको जवाफमा शुकदेव भन्दछन्– हे राजन ! यी नरक त्रिलोककै भित्र छन् तथा दक्षिणतर्फ पृथ्वीभन्दा तल पानीको माथि छ । त्यस लोकमा सूर्यका पुत्र पितृराज भगवान यम छन्, उनी आफ्ना सेवकसहित बस्दछन् । उनी भगवान्को आज्ञा उल्लंघन नगरीकन आफ्ना दूतहरूले त्यहाँ पुर्‍याएका मृत प्राणीहरूलाई उनीहरूका दुष्कर्म हेरीकन सोअनुसार पापका फलस्वरूप दण्ड दिन्छन् ।

श्रीमद्भागवत र मनुस्मृतिका अनुसार नरकको नाम

तामिस्र, अन्धतामिस्र, रौरव, महारौरव, कुम्भीपाक, कालसूत्र, असिपत्रवन, सुकरमुख, अन्धकुप, कृमिभोजन, सन्देश, तप्तसूर्मि, वज्रकण्टकशाल्मली, वैतरणी, पुयोद, प्राणरोध, विशसन, लालभक्ष, सारमेयादन, अवीचि र अयःपान । यी बाहेक अरू सातओटा क्षरकर्दम, रक्षोगणभोजन, शूलप्रोत, अवनिरोधन, पर्यावर्तन, दन्दशूक र सूचीमुख पनि प्रमुख नरकभित्रै पर्दछन् । यी २८ वटै नरकहरू पृथ्वीमै पर्दछ भनी शास्त्रहरूमा बताइएको छ । कुनै कुनै पुराणमा प्रमुख नरकहरूको नाम ३६ वटासम्म पनि बताइएको छ ।

यीबाहेक वायु पुराण र विष्णु पुराणमा पनि थुप्रै नरक कुण्डहरूको नाम लेखिएको छ– वसाकुण्ड, तप्तकुण्ड, सर्पकुण्ड, अक्रकुण्ड आदि । यस्ता नरककुण्डहरूको संख्या ८६ छन् । यीमध्ये सात नरक पृथ्वीभन्दा तल र अरू लोकभन्दा पर छन् भन्ने मानिएको छ । सात नरकमा रौरव, शीतस्तप, कालसूत्र, अप्रतिष्ठ, अवीचि, लोकपृष्ठ र अविधेय हुन् । यी पुराणमा २१ प्रधान नरकहरूको नाम पनि अरूमा भन्दा केही फरक दिइएको छ– रौरव, शूकर, रौघ, ताल, विशसन, महाज्वाल, तप्तकुम्भ, लवण, विमोहक, रुधिरान्ध, वैतरणी, कृमिश, कृमिभोजन, असिपत्रवन, कृष्ण, भयंकर, लालभक्ष, पापमय, पूयमह, वहिज्वाल, अधःशिरा, संदर्श, कालसूत्र, तमोमय–अवीचि, श्वभोजन र प्रतिभाशून्य अपर अवीचि तथा यस्तै अन्य भयंकर नरकहरू छन् ।

वास्तवमा, यी पृथ्वीमा विद्यमान भयंकर स्थान हुन् जहाँ तपाईं जान चाहनुहुन्न वा तपाई अन्य कुनै जन्तुका रूपमा जन्म लिएर समेत रहन चाहनुहुन्न । तर यदि तपाईंले आफ्नो चेतनाको स्तर गिराउनुभयो भने तपाईं स्वतः त्यहाँ पैदा हुनुहुन्छ र सूक्ष्म शरीरका रूपमा त्यहाँ केही समय रहनुहुन्छ । तपाईंले ध्यानपूर्वक हेर्नुभयो भने तपाईंकै वरिपरि नै नरक देख्न सक्नुहुन्छ। जहाँ कैयौं जीवजन्तु अति नै दयनीय स्थितिमा बाँचिरहेका छन् ।

महाभारतको एक कथाअनुसार सत्यवादी धर्मराज युधिष्ठिरले पनि एक दिन एक मुहूर्तसम्म नरकमा बस्नुपरेको थियो । त्यतिखेरको स्मरणमा देवराज इन्द्रले युधिष्ठिरलाई भनेका थिए– हे युधिष्ठिर, तिमीले अश्वत्थामा मरेको खबर सुनाएर छलपूर्वक द्रोणाचार्यलाई उनको छोराको मृत्यु भएको विश्वास दिलाएका थियो । त्यसै पापको परिणामस्वरूप तिमीले पनि छलपूर्वक नै सही केही बेर नरक पुग्नै पर्‍यो । अब तिमी मसँग स्वर्ग हिँड । त्यहाँ तिम्रा भाइहरू एवं अन्य वीर पहिल्यै पुगिसकेका छन् ।

नरक चतुर्दशी : नरकको सजाय सत्य वा भ्रान्ति