एनभीए भलिबल च्याम्पियनसिपः न्यु डायण्डको सहज जित

एनभीए भलिबल च्याम्पियनसिपः न्यु डायण्डको सहज जित


राष्ट्रिय एनभीए क्लब भलिबल च्याम्पियनसिपको सातौँ संस्करणमा न्यु डायमण्ड स्पोर्ट्स क्लबले विजयी सुरुआत गरेको छ ।

सोमबार बिहान भएको खेलमा नयाँ बजार समाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यु डायमण्डले महिलातर्फ विजयी सुरुआत गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा न्यु डायमण्डले सहज जित निकाल्यो । नयाँ बजारले कुनै पनि सेटमा दोहोरो अंकमा स्कोर गर्न सकेन । न्यु डायमण्डले पहिलो सेट २५–२, दोस्रो सेट २५–८ र तेस्रो सेट २५–६ को स्कोरमा जितेको थियो ।

जितसँगै समूह ‘ए’मा रहेको न्यु डायमण्डले तीन अंक जोडेको छ । समूह ‘ए’मा न्यु डायमण्ड र नयाँ बजारसँगै एभरेष्ट भलिबल युवा क्लब र नेपाल पुलिस क्लब छन् । प्रतियोगिताको पहिलो दिन नयाँ बजार नेपाल पुलिस क्लबसँग ३–० कै सेटमा पराजित भएको थियो ।महिलातर्फ आजको दोस्रो खेलमा एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

यस्तै, आज पुरुषतर्फ चार खेल हुनेछन् । १२ बजे हुने पहिलो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लब र बुढानिलकण्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । दुई बजे हुने दोस्रो खेलमा केशबलाल मेमोरियल भलिबल प्रशिक्षण केन्द्र र मधेश प्रदेशबीच खेल हुनेछ । त्यस्तै ४ बजे हुने तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । साँझ ६ बजे हुने पुरुषतर्फको चौथो खेलमा सशस्त्र प्रहारी बल (एपीएफ) र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । 

Logo