देशको अर्थतन्त्र गम्भीर अवस्थामा छ, राष्ट्रहितको पक्षमा उभिऔं -ओली

देशको अर्थतन्त्र गम्भीर अवस्थामा छ, राष्ट्रहितको पक्षमा उभिऔं -ओली


नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन् । 

सोमवार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले देशमा राजश्व उपयुक्त ढंगले उठ्न नसकेको र धेरै वर्षपछि राजश्व असुली माइनसमा गएको बताए । अर्थतन्त्र ऋणात्मक हुनु गम्भीर विषय भएको उनले बताए । 

उनले वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो अवस्थामा रहेको, आयात गर्ने स्थिति नरहेको र निर्यात गर्ने वस्तुको उत्पादन घट्नुको साथै उद्योगहरु बन्द भइरहेको बताए । अबका दिनमा अर्थतन्त्रको समस्या समाधानका लागि सकारात्मक समाधान खोज्नुपर्ने आवश्यक्ता रहेको उनले बताए । 
 
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलवार नयाँ सरकारको विश्वासको मत लिनेमा आफू ढुक्क रहेको बताए । उनले विगतका केही महिनामा देशले नयाँ परिवर्तन खोजेको र परिवर्तनको रुपमा नयाँ पार्टी र नयाँ सांसदहरुको उदय भएको बताए । देशको उन्नतीको लागि सरकार बनाउने भएको भन्दै सबैले एकसाथ मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए । 

अध्यक्ष ओलीले सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेद अन्त्य गर्ने चुनौति आफूहरुका अघि रहेको भन्दै आन्दोलनका घाउमा मलमपट्टी गर्ने चुनौति छ, मुद्दा मामिलाका समस्या, शान्ति प्रक्रियाको समाधानका चुनौतिलाई समाधान गर्नुपर्ने बताए । उनले सांसद र नेताहरुको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि काम गर्ने समय नहुने भन्दै गोटी चाल्ने नभइ काम गर्ने बाटो समात्न आग्रह गरे । सरकार बन्न नपाउँदै भत्काउने षड्यन्त्रमा नलाग्न आग्रह गर्दै आफ्नो समयको सही उपयोग गर्न उनले आग्रह गरे । 
 
अध्यक्ष ओलीले यो सरकारले लोकतन्त्रको रक्षा, संवद्र्धन र सुदृढीकरणका लागि काम गर्ने बताए । 

Logo