हामीले लेख्ने साहित्यमा हिमाली सभ्यताको कुरा आउनुपर्छ

भुवनहरि सिग्देल शास्त्रीय छन्दमा कविता रचना गर्ने वर्तमानका सशक्त कवि हुन् । उनको जन्म वि सं २००७ साल जेठ ५ गते दहचोक काठमाडौंमा भएको थियो । उनले नेपाली खण्डकाव्य, महाकाव्य मात्र नभई कथासंग्रह र उपन्यास पनि लेखेका छन् । २०७३ सालमा उनले लेखेको ’आमोई’ जीवन इतिवृत्त निकै चर्चित रहेको थियो । सात खण्डकाव्य, तीन महाकाव्य, एक नव्यकाव्य, एक नीतिकाव्य, एक कविता संग्रह, चार उपन्यास, एक बालगीत र एक जीवनवृत्त लेखिसकेका उनी विशेषत: शास्त्रीय छन्दकै कविताका प्रखर कवि मानिन्छन् ।

विशेषतः काल्पनिक उडान गर्नुभन्दा यथार्थको संसारलाई नियालेर लेख्न रुचाउने साहित्यकार हुन् सिग्देल । सीमान्तकृतहरूको आवाज साहित्यले बोल्नुपर्छ, हिमाली सभ्यता नेपालीहरूको चिनारी भएकाले त्यसै कुरालाई साहित्यमार्फत बोल्नुपर्छ भन्ने सिग्देल छन्दमा असाध्यै चोटिला कविता लेख्छन् । उनै सिग्देलसँग केन्द्रविन्दुका लागि दीपक दर्शनले यसपटक पुस्तक पठनका विषयमा ७ प्रश्न राखेका छन् ।

१. तपाईंले पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?

मैले भर्खरै दुईवटा पुस्तक सँगसँगैजसो पढिसिध्याएँ । एउटा तर्कना शर्माको उपन्यास ‘जेब्राक्रस’ अनि अर्को गिरिशवल्लभ जोशीको ‘वीर चरित्र’ । अहिले ‘जेब्राक्रस’ कै विषयमा कुरा गरूँ न त ।

२. तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?

‘जेब्रा क्रस’ समलिंगीको विषयमा अनुसन्धान गरेर लेखिएको आख्यान हो । म आफू पनि सीमान्तकृत वर्गको कुरा लेख्न रुचाउँछु । पढ्दा पनि सकेसम्म त्यस्तै विषयवस्तु भएका पुस्तक छनोट गर्ने बानी छ । यसै क्रममा यो पुस्तक पढेको हुँ ।

३. उक्त पुस्तकको सार के पाउनुभयो ?

यो बडा गज्जबको पुस्तक छ । दुई पात्रको उहापोहमा पुस्तक घुमेको छ । मन पराएर, अझ उसैले प्रेम प्रस्ताव राखेर बिहे गरेको केटो विवाहपछि स्पर्श गर्नबाट तर्किन खोज्छ, एउटै खाटमा सुत्दैन । अझ यतिसम्म कि युवतिलाई अन्य केटासँग सहवास गरेर बच्चा जन्माऊसम्म भन्दछ, वेश्यालयमा पठाउन खोज्छ । केटीलाई तनाव हुन्छ, औडाहा हुन्छ, के गर्ने नगर्ने को स्थितिमा पुग्छे, अन्ततः केटो समलिंगी हो भन्ने कुरा थाहा पाउँछे । उनीहरू छुट्टिन्छन् । यस्तैयस्ता अवस्थाबीच उठेका समस्याहरू नै पुस्तकको सार हो भन्न सकिन्छ ।

४. उक्त पुस्तकको कुन कुराले छोयो र किन ?

मानवीय संवेदनाले छोयो । भाषाशैली पनि माझिएको छ, राम्रो छ । धेरै हदसम्म लेखन तटस्थ छ । केटा वा केटी कुनैलाई पनि दोष नलगाई यथार्थ चित्रण गर्ने प्रयास भएको छ । एउटाको पक्ष लिएर अर्काको खेदो खन्ने काम गरिएको छैन ।

५. पुस्तकमा कुन पक्ष सुधार गर्नुपर्ने लाग्यो ? वा पुस्तकको कमजोरी के पाउनुभयो ?

अन्त्यतिर पुग्दा पुस्तकमा केटालाई बेवास्ता गरियो । केटीले संस्था खोलिन्, यस काममा एकजना बूढो लाहुरेको सहयोग लिइन् । जब कि यसमा केटा–केटी दुवैबीच स्थिति स्पष्ट भइसकेको अवस्थामा दुवैलाई सँगै लैजान पनि सकिन्थ्यो । अथवा केटीको कुरा देखाइसकेपछि केटाको पनि पीडालाई एउटा निचोडमा पुग्न दिएर देखाइएको भए हुन्थ्यो भन्ने लाग्यो । पाठकीय कोणबाट यो मलाई लागेको कुरा मात्र हो, सुधार हुनैपर्छ भनेको होइन है ।

६. यो पुस्तकलाई रेटिङ गर्नुपरे २० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?

पुस्तक निकै राम्रो छ । नम्बरै दिनुपरे म यसलाई २० पूर्णांकमा १६ दिन्छु ।

७. हाम्रा पाठकलाई पुस्तक छनोट गर्न केकस्तो तरिका सुझाउनुहुन्छ ?

पुस्तक छनोट गर्दा सामाजिक उच्छृङ्खलता नभएको, नेपालीपन भएको, यथार्थपरक पुस्तक छनोट गर्नु राम्रो हुन्छ । विशेष गरी हामी हिमाली सभ्यतामा हुर्किएका हौं, हामीले लेख्ने साहित्यमा पनि हिमाली सभ्यताकै, आफ्नै कुरा हुनुपर्छ, हामीले समुद्रका कुरा लेख्नु काल्पनिक हुन्छ । तसर्थ नेपाली लेखकका त्यस्तै खाले पुस्तक छनोट गर्नु राम्रो हो । विदेशी लेखन र लेखकका सन्दर्भमा छनोटको कुरा फरक हुन्छ ।