विकासलाई कमजोर पार्ने घरबेटी वा दाजुभाइ कसैलाई पनि छुट छैन– उपप्रधानमन्त्री श्रेष्ठ

विकासलाई कमजोर पार्ने घरबेटी वा दाजुभाइ कसैलाई पनि छुट छैन– उपप्रधानमन्त्री श्रेष्ठ


उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंका सोह्रखुट्टे, पानीपोखरी र नयाँबजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।उनले कसैको दबाब र प्रभावमा नपरी आफू जनताका समस्या समाधान गर्ने काममा लाग्ने बताए । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरधनीले धेरै सडकहरूको बिचल्ली बनाएका छन्, उहाँलाई कारबाही गर्न सक्नुहुन्छ ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीले नराम्रो गर्ने कोहीलाई कारबाही गर्न सक्ने निर्देशन दिएको बताए । उनले प्रधानमन्त्रीको निर्देशन नै आइसकेकाले प्रधानमन्त्रीलाई उक्त विषयमा जोडेर नहेर्न आग्रह गरे । सडकमा समस्या देखिएपछि भाग्ने नभई सरकार र सम्बन्धित निकायले पूरा गर्नुपर्ने उनले उल्लेख गरे ।

“म कोही घरबेटी, मित्र, कोही दाजुभाइसँग सम्बन्धित भएर काम गर्दिनँ । निरपेक्ष ढंगले काम गर्छुु । आवश्यकतालाई, जो कोहीलाई पनि कारबाही गर्नुस् भन्नुभएको छ । त्यो प्रधानमन्त्रीको निर्देशन छ, त्यससँग प्रधानमन्त्रीलाई नजोडी दिनुहोला,” उनले भने, “राज्यले जनतालाई दिनुपर्ने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा हामी कसैसँग पनि सम्झौता गर्दैनौँ । समस्या देखिएपछि पूरा गर्नुपर्छ । छोड्नु भएन । के सहयोग चाहिन्छ, त्यो सम्बन्धित निकायमा प्रस्ताव राखेर काम गर्नुपर्छ । हामी जनतालाई यस्तो सडक दिन सक्दैनौँ ।’ उनले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरू पनि पैदलयात्रीमैत्री बनाउने अभियानमा सरकार लागिसकेको बताए । यस किसिमका समस्या समाधान गर्न तीन तहकै सरकारले मिलेर काम गर्नुपर्ने उनले औँल्याए ।

सडक कमभन्दा कम खन्न, सडक खन्दा निश्चित जानकारी गराउनुपर्ने र सडक भत्काइएका ठाउँमा तत्काल मर्मत–सम्भार गरिनुपर्नेमा उनले जोड दिए । उपप्रधानमन्त्री श्रेष्ठले देशको संघीय राजधानीमा सडकको दुरावस्था हुनु राम्रो नभएको बताए । सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाइरहेको उनले जानकारी दिए ।

Logo