थुनामुक्त भए सन्दीप लामिछाने

थुनामुक्त भए सन्दीप लामिछाने


बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् । केन्द्रीय कारागारमा रहेका उनलाई शुक्रवार दिउँसाे बाहिर निकालेर उच्च अदालत पाटन हरिहरभवनमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछाने रिहा भएका हुन् । सन्दीपका दाजु मोहन लामिछानेले अदालतमा धरौटी जम्मा गरेका थिए । 

उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीवार लामिछानेलाई विभिन्न शर्तसहित धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । अदालतले उनलाई मुद्दाको किनारा नलागुञ्जेल विदेश जान नपाउने, त्यस अवधिसम्म उनको राहदानी पनि रोक्का राख्‍ने, आफूखुसी काठमाडौं उपत्यका छाड्न पनि नपाउने, जानुपरे जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुमति लिनुपर्ने, पीडित वा उनको परिवारका सम्बन्धमा विद्युतीय वा सामाजिक सञ्जालबाट कुनै सामग्री प्रकाशन गर्न नपाउने पीडित र पीडितको परिवारसँग सम्पर्क वा भेट गर्न पनि बन्देज, पीडित वा उनको परिवारलाई डर, त्रास, धम्की, दबाब र प्रभाव दिने कुनै कार्य गर्न नपाउने, आदेश पालना भए–नभएको जाँचबुझ गर्ने अधिकार नेपाल प्रहरीलाई, सर्त उल्लंघन गरे धरौटीमा रिहा गर्ने आदेश स्वतः निष्क्रिय भएको मानिने कडा सर्त सुनाएको छ ।

आज हिरासतबाट मुक्त हुनुअघि लामिछानेको स्वास्थ्य परीक्षण भएको थियो । तीन महिनाभन्दा बढी समय हिरासतमा बस्नुपर्दा लामिछानेमा मानसिक समस्या देखिएको बताइएको छ । 

गत भदौ ५ गते १७ वर्षीय किशोरीलाई होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै लामिछानेविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसपछि क्यारेबियन लिग खेल्न जमैका गएका उनले असोज २० गते नेपाल आएर प्रहरीसमक्ष आत्मसमपर्ण गरेका थिए । 

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि उनका वकिलले उच्च अदालत पाटनमा पुनरावेदनको मुद्दा दायर गरेका थिए । वेरितको आदेश बदर माग गर्दै लामिछानेको तर्फबाट रिहाइको लागि गरिएको पुनरावेदनमाथिको सुनुवाई पटकपटक स्थगित भएको थियो । तर, बिहीवार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गरेको हाे । 

Skip This
Logo