दीपावलीमा बालेको वत्तीले घर जल्यो, बालकको मृत्यु
File Photo

विराटनगर,

मोरङ पथरी शनिश्चरे नगरपालिका – ५ कोठेबारीमा दीपावली गर्न बालेको दियोबाट घर जल्दा चार वर्षीय बालकको मृत्यु भएको छ । गएराति करिब साढे १० बजे कोठेबारीका युवराज गिरीको घरमा आगलागी हुँदा उनका चार वर्षीय छोरा युसन गिरीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेका युसनको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको हो । आगोमा जलेर उनको एक तले घर पनि पूर्णरुपमा नष्ट भएको छ ।

घरभित्र रहेको नगद ९५ हजार, तीन तोला सुनका गहना, तीनतोला चाँदीका गहना, लत्ता कपडा पनि नष्ट भएको पीडित परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरी चौकी कुशेचौरीबाट खटिएको टोलीले करिब एघार बजेतिर आगो नियन्त्रणमा लिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।