विद्यालय तहमै योग शिक्षाको अध्ययन गराउन आवश्यक छ–प्रधानमन्त्री प्रचण्ड

विद्यालय तहमै योग शिक्षाको अध्ययन गराउन आवश्यक छ–प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन÷अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताएका छन् ।

आइतबार आठौँ राष्ट्रिय योग दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा उनले मानिसलाई मानसिक रूपले तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताए । विद्यालय र विश्वविद्यालय तहमै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउन सके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिन सक्ने उनले उल्लेख गरे । भौतिक विकासले मात्र मानिस सम्पन्न बन्न नसक्ने भन्दै उनले योग शिक्षाबाट नै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको बताए ।

भौतिक रूपले सम्पन्न देशहरूमा धेरै डिप्रेसन र आत्महत्याका घटनाहरू भएको भन्दै उनले मानसिक रूपमा पनि चुस्त रहन आवश्यक रहेको बताए । मानिसको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग, ध्यान र साधनाको आवश्यक रहेको उनको भनाइ छ । अहिले सारा विश्व, योग, ध्यान र साधनातिर केन्द्रित रहेको भन्दै योग र साधना नेपालको संस्कृति, सम्पदा र पहिचानको आधार भएको उनले बताए ।

‘पूर्वीय सभ्यताको आधारशीला योग र ध्यान, आध्यात्मिक चिन्तनलाई मानिन्छ । अहिले पूरै संसार नै योग र ध्यानतिर आकर्षित र केन्द्रित छ । पूर्वीय सभ्यताको पनि नेपाल त्यसको धरोहर हो भन्न पाउँदा हामी सबै नेपालीलाई गर्वको महसुस हुन्छ । हाम्रो इतिहास, संस्कृति, परम्परामा योग र ध्यानसँगै नै अन्तर्निहित रहेका छन् । हाम्रो सांस्कृतिक धरोहरहरू हेर्‍यो भने मठ, मन्दिर, गुम्बा सबैमा पनि योग आधारित भएर बनेका थिए । त्यसकारण नेपालमा योग, ध्यान र आध्यात्मिक चिन्तनको परम्परा धेरै पुरानो परम्परा हो । हाम्रो संस्कृति, सम्पदा र पहिचानको आधार हो,” उनले भने, “संयुक्त राष्ट्रसंघले योग दिवस मनाउने भनेपछि संसारभर नै जिज्ञासा र अभिरुचि बढेको छ । भौतिक रूपले धेरै नै विकसित भनेका देशमा पनि मानिसको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण थुप्रै डिप्रेसनतिर जाने गरेका छन् । भौतिक रूपले सम्पन्न र विकसित देशहरूमा तथ्यांकहरू हेर्दा मानसिक रूपले कमजोर भएको तथ्यांकहरू धेरै छ । आत्महत्यका तथ्यांकहरू त्यहाँ नै बढी छन् । मानव जातिका लागि भौतिक विकासले मात्रै मानव जातिको रक्षा गर्न सक्दैन । मानवका लागि भौतिकका साथै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य छ । त्यस खालको सन्तुलन कायम गर्न योग र ध्यान सर्वोत्तम उपाय हो भन्ने कुरा वैज्ञानिक रूपले प्रमाणित भइसकेको छ । भौतिक रूपले मात्रै सम्पन्न गराउने नभई मानिसलाई मानसिक रूपले पनि तन्दुरुस्त राख्न विद्यालय तहमा नै योग शिक्षा अघि बढाउने र विश्वविद्यालयसम्म लग्यो भने मात्रै संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिन सक्छौँ ।”

प्रधानमन्त्री प्रचण्डले योग शिक्षालाई जनस्तरमा पुर्‍याउन सरकारका तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । उनले संस्कृति, पहिचान र परम्पराको जगेर्ना गर्न र आफू चुस्त रहन योग शिक्षालाई संरक्षण गर्न आवश्यक भएको बताए ।

Logo