बार्सिलोनाले रियल मड्रिडलाई हराउँदै अग्रता कायम गर्ला ?

बार्सिलोनाले रियल मड्रिडलाई हराउँदै अग्रता कायम गर्ला ?


स्पेनिस सुपर कपका लागि बार्सिलोना र रियल मड्रिडले आज राती १२ः४५ बजे साउदी अरेबियाको रियादस्थित किङ फहद रंगशालामा ६८ हजार दर्शक अघि भिड्दैछन् ।

स्पेनिस सुपर कप सन् १९८२ देखि सञ्चालन भएको स्पेनको एक घरेलु लिग हो । यो लिगको सबैभन्दा सफल टोली बार्सिलोनाले १३ पटक ट्रफी जितेको छ । यस्तै रियल मड्रिड पनि १२ ट्रफी सहित दोस्रो स्थानमा रही बार्सिलोनालाई पछ्याइरहेको छ । यदि आजको खेल रियल मड्रिडले जितेमा दुबैको उपाधि बराबर हुनेछ ।  रियल मड्रिड डिफेन्डिङ च्याम्पियन पनि हो । 

स्पेनिस सुपर कपको ढाँचा सन् २०१९–२० मा परिवर्तन गरी चार टोलीलाई समावेस गरिएको छ । जसमा ला लिगा र कोपा डेल रेका विजेता तथा उपविजेताहरू समावेश हुन्छन् । यसअघि फाइनल खेल होम र अवे गरी दुई लेगमा हुने गर्दथ्यो । फाइनल प्रवेशका लागि रियल म्याड्रिड र बार्सिलोनाले आ–आफ्नो प्रतिद्धन्द्धीलाई सेमिफाइनलमा हराएका थिए । रियल मड्रिडले सेमिफाइनलमा भ्यालेन्सियासँग नियमित समयमा १–१ को बराबरीपछि पेनाल्टीमा ४–३ गोलले हराउदै फाइनल प्रवेश गरेको थियो । बार्सिलोनाले पनि सेमिफाइनलमा रियल बेटिससँग नियमित समयमा २–२ को बराबरीपछि पेनाल्टीमा ४–२ गोलले हराउदै फाइनल प्रवेश गरेको हो । 

आज हुने खेललाई दुबै टोलीले प्रतिष्ठाको रुपमा पनि हेरेका छन् । किनभने स्पेनका यी दुई क्लब भिड्दा संसारको नजर परिरहेको हुन्छ । आजको खेललाई एल क्लासिकोका रुपमा पनि हेरिएको छ । स्पेनिस क्लबमा रियल मड्रिड र बार्सिलोना बिचको चिरप्रतिद्वन्द्वीतालाई एल क्लासिको भन्ने गरिन्छ । 

यी दुई क्लबबीचको आजको खेल २८५औं श्रृंखला हो । स्पेनिस सुपर कपमा मात्र यी दुई क्लबको भेट ८ औं पटक भएको छ । रियल मड्रिडले जारी सिजनको अक्टोवरमा भएको भेटमा बार्सिलोनालाई ३–१ ले हराउँदै नतिजा आफ्नो पक्षमा पारेको थियो ।  

स्पेनिस सुपर कपमा यी दुई क्लबको भेट पहिलो पटक सन् १९८८ मा भएको थियो । सो भेटमा रियल मड्रिडले दुई–लेगको फाइनल खेलमा बार्सिलोनालाई ३–२ ले हराएको थियो । यस्तै सन् १९९० मा पनि रियल मड्रिडले बार्सिलोनालाई नै हराउँदै दोस्रो पटक च्याम्पियन भएको थियो । 

बार्सिलोनाले यो ट्रफी सन् १९८३, १९९१, १९९२, १९९४, १९९६, १९९६, २००५, २००६, २००९, २०१०, २०११, २०१३, २०१६ र २०१८ मा गरि १३ पटक उपाधि जितेको छ भने, डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले सन् १९८८, १९८९, १९९०, १९९३, १९९३, १९९७, २००१, २००१, २००३, २००३, २००८, २०१२, २०१७ र २०२० र २०२२ मा यो उपाधि जितेको छ । 

हेड टू हेड रेकर्ड
रियल मड्रिड र बार्सिलोनाविरुद्ध भएको २८५औं भेट मध्ये ११७ खेल बार्सिलोनाले जितेको छ । १०५ खेलमा रियल मड्रिडले जित हासिल गरेको छ । बाँकी ६२ खेल भने बराबरीमा टुङ्गिएको छ । रियल मड्रिडले आफ्ना पछिल्ला पाँच भेटमध्ये चार खेलमा बार्सिलोनालाई हराएको छ भने बार्सिलोनाले १ मात्र खेल जितेको छ । 

आजको खेलमा रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सोलोटी र बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजका लागि ठूलो परीक्षा हुनेछ । यी दुबै प्रशिक्षकसँग उत्कृष्ट ११ नै खेलाडी साथमा रहेकाले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ । दुबै क्लबसँग विश्वका उत्कृष्ट खेलाडीहरु छन् । अझ रियल मड्रिडसँग त झन गत वर्षको बालोन डी’ ओर विजेता करिम बेन्जेमा पनि रहेका छन् । गत वर्षकै फिफा वर्ष खेलाडी रोबर्ट लेवान्डोस्की भने बार्सिलोनासँग रहेका छन् । जारी सिजनमा बार्सिलोनाका लेवान्डोस्की १७ गोलका साथ गोल संङख्याको आधारमा बेन्जेमा भन्दा ९ गोलले अघि छन् । बेन्जेमाले जारी सिजनमा ८ गोल मात्र गरेका छन् । 

आज बेलुकी साउदी अरेबियाको रियादमा हुने यी दुई क्लब बीचको महाभिड्न्त रियल मड्रिडविरुद्ध बार्सिलोना मात्र नभएर रोबर्ट लेवान्डोस्कीविरुद्ध करिम बेन्जेमा हुने पक्का छ । पछिल्लो सिजन च्याम्पियन्स लिग, ला लिगा र स्पेनिस सुपर कप आफ्नो पोल्टामा पारेको रियल मड्रिड पूर्ण आत्मविश्वासका साथ मैदान उत्रने छ । १३ पटकको च्याम्पियन बार्सिलोना आफ्नो अग्रता कायम राख्न हर सम्भव प्रयास गर्ने निश्चित छ । यी दुई क्लबमध्ये आजको खेलमा को सफल होला ? त्यसका लागि भने खेलको नतिजा नै कुर्नुपर्ने हुन्छ । 

 

Logo