महिला क्रिकेटः प्रदेश १ र सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो जित

महिला क्रिकेटः प्रदेश १ र सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो जित


सुदूरपश्चिम प्रदेश र प्रदेश १ ले इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । 

इटहरीको जनता क्रिकेट पार्कमा सोमवार सम्पन्न दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेट तथा पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको रोमाञ्चक जित निकाल्दा दुवै टोलीले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेका हुन् ।

यस जितसँगै समूह ‘ए’ को सुदूरपश्चिमले दुई खेलमा चार अंक जोड्दा गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा सुदूरपश्चिमले वागमती प्रदेशलाई ३३ रनले हराउँदा गण्डकी विभागीय टोली एपिएफसँग सात विकेटले पराजित भएको थियो । 

सोमवार गण्डकीले प्रश्तुत गरेको ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो ।  सुदूरपश्चिमका लागि  कप्तान विन्दु रावलले ४३ बलमा आठ चौका मद्दतमा अविजित ४६ रनको पारी खेलिन् । यस्तै शोभा रोकाय ८ रनमा अविजित रहिन् । 

गण्डकीका लागि एक मात्र विकेट निरुता जिटीले हात पारिन् । 

यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले पूरै २० ओभरमा ९ विकेटको क्षतिमा ६० रनको योगफल बनाएको थियो । गण्डकीका लागि सिमान केसीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । 

बलिङतर्फ सुदूरपश्चिमका लागि मनिषा चौधरीले ४ तथा स्नेहा महरा र ईश्वरी बिष्टले समान १/१ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत सोमवार नै सम्पन्न दिनको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको रोमाञ्चक जित निकाल्न सफल भएको हो । इटहरीको जनता पार्कमा ढिलो गरी शुरु भएको खेलमा लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै प्रदेश १ ले लगातार दोस्रो जित निकालेको हो । 

मैदान ओसिलो भएपछि ९ ओभरमा झारिएको खेलमा प्रदेश एकले लुम्बिनीलाई ६० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको लुम्बिनीले पूरै ९ ओभरको समाप्तिमा ७ विकेट गुमाएर मात्र ५० रन जोड्नसक्यो । लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले सर्वाधिक ३१ रनको जोडेकी थिइन् । १७ बल सामना गरेकी लक्ष्मीले ४ चौका र १ छक्का प्रहार गरेकी हुन् । कप्तान सरस्वती जिएमले ६ रन जोड्नु बाहेक अन्य खेलाडीले राम्रो स्कोर बनाउन सकेनन् । 

रोमाञ्चक जित निकाल्ने कसिलो बलिङ गरेको प्रदेश १ का लागि संगीता राईले सर्वाधिक ३ विकेट निकाल्दा सबनम राई, ज्योती दनुवार र रुबिना क्षेत्रीले समान १/१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले छोट्याइएको ९ ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको थियो । काजल श्रेष्ठले सर्वाधिक २१ रनको पारी खेल्दा कप्तान रुबिना क्षेत्रीले १७ रन जोडिन् । यस्तै अप्सरी बेगमले १२ रन जोड्दा स्मृति कटुवाल र सबनम राई क्रमश ४ र १ रनमा अविजित रहे । 

प्रदेश १ को चार विकेट निकाल्ने क्रममा लुम्बिनीकी कृतिका मरासिनी, सरस्वती पुन र विभष्णा बिसीले १/१ विकेट लिए । यस जितसँगै प्रदेश १ ले २ खेलमा ४ अंक जोडेको छ । प्रदेश १ समूह बी को शीर्ष स्थानमा रहेको छ । 

प्रतियोगितामा मंगलवार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल कर्णाली र प्रदेश १ तथा दोस्रो खेल सुदूरपश्चिम र विभागीय टोली एपिएफबीच प्रतिष्पर्धा हुनेछ । 

Logo