नेत्रहीन तीन महिला क्रिकेटर सम्मानित

नेत्रहीन तीन महिला क्रिकेटर सम्मानित


काठमाडौं ।

नेपालका तीन महिला नेत्रहीन क्रिकेट खेलाडी ‘ज्योति केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कार’ बाट सम्मानित भएका छन् । नेपाल नेत्रहीन क्रिकेट संघले १५ औं वार्षिकोत्सवको अवसरमा बुधबार तीन खेलाडीलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो ।

संघले हरेक वर्षको साउन २२ गते वार्षिकोत्सव मनाउने गर्छ । सम्मानित हुने खेलाडीमा बी–३ समूहतर्फ राष्ट्रिय टोलीका कप्तान समेत रहेकी भगवती भट्टराई, बी–२ बाट मनकेशी चौधरी र बी–१ बाट आशा रेगामी रहेकी छिन् ।

उनीहरुलाई जनही ५–५ हजार र कदरपत्रबाट सम्मान गरिएको संघले जनाएको छ । कप्तान भगवती विगत १४ वर्षबाट नेत्रहिन क्रिकेटमा संलग्न रहेकी छिन् । सन् २०१४ मा बेलायत र २०१९ मा पाकिस्तानसँगको सिरिजमा कप्तानी गर्दै नेपाललाई जीत दिलाएकी थिइन् ।

मनकेशी उत्कृष्ट ब्याटिङका लागि चर्चित छिन् । उनी बेलायत र पाकिस्तानविरुद्धको सिरिजमा प्लेयर अफ दि सिरिज बनेकी थिइन् ।

आशा पनि १४ वर्षबाट नेत्रहीन क्रिकेटमा रहेकी छिन् । सन् २०१९ मा पाकिस्तानविरुद्धको सिरिजमा उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

Logo