विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानूनी समस्या समाधान गर्छु -प्रधानमन्त्री

विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानूनी समस्या समाधान गर्छु -प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका लाखाैँ नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज गैरआवासीय सङ्घका प्रतिनिधिसँगको छलफलमा उनले भने, “विदेशमा लाखौँ नेपाली छन्, मैले मेरो दोस्रो कार्यकालसम्म गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले उठाएका मागहरू सम्बोधनका लागि प्रयास गरेँ र अब मेरो तेस्रो कार्यकाल विदेशमा बस्ने बहुसङ्ख्यक नेपालीको मन जित्छु ।”

उनले अगाडि थपे, “नेपालका कतिपय परम्परागत ऐन कानून छन्, जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ, तपाईंलाई विश्वस्त पार्न चाहन्छु कि म त्यस्ता खालका पर्खाललाई भत्काउनेछु ।”

भेटमा प्रधानमन्त्री दाहालले नेपालमा विद्यमान कतिपय कानूनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबका दिनमा पनि कानूनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताए । 
 
विदेशमा रहेका नेपालीले नेपाल र नेपालीको पहिचान विश्वमाझ पु-याउन ठूलो भूमिका निर्वाह गरेको भन्दै गैरआवासीय नेपालीप्रति प्रधानमन्त्री दाहालले आभार व्यक्त गरे । राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिकरूपमा विश्वभर नेपाललाई चिनाउन नेपालीहरू थप संवेदनशील र जिम्मेवार बन्दै गएकोप्रति प्रधानमन्त्री दाहालले खुसी व्यक्त गरे । 

भेटका क्रममा प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सङ्घका तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो । 

सो अवसरमा गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म सङ्घले गरिआएको काम, नेपाल सरकारका तर्फबाट सम्बोधन भइआएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानूनी सुधार सम्बन्धमा सङ्घका तर्फबाट धारणा राखेका थिए । 

Logo