प्रदेश १ को नाम पुसभित्र टुंगो लाग्ने

दमक,

प्रदेश नम्बर १ ले पुस महिनाभित्र प्रदेशको नाम टुंग्याउने भएको छ। त्यसका लागि गृहकार्य शुरु गरिएको छ। प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सबैको प्रस्तावलाई स्वीकार गर्दै सबैलाई मान्य हुने गरि नाम राख्ने तयारी थालिएको बताए।

कार्कीले पत्रकार सम्मेलन गर्दै सबैको भावनाको कदर हुने गरि नामांकनको तयारी भएको बताए । ‘पुसमा शुरु हुने हिउँदे अधिबेशनले प्रदेशको नामाकरण गर्ने छ’, उनले भने, ‘सबैको भावना समेट्नका लागि समेत गृहकार्य भइरहेको छ।’

सत्तापक्ष सांसदबीच नै नामांकनमा विवाद भएपछि प्रदेशले यस अघि राजधानी मात्रै तोकेको थियो । राजधानी तोक्दा समेत अन्य भुगोल मिलाउनका लागि बिराट क्षेत्र भनिए पनि मुख्य अंग कार्यापालिका, व्यवस्थापिका र न्यायपालिका विराटनगरमै रहने उनले उल्लेख गरे ।