राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री सकारात्मकः काँग्रेस प्रवक्ता महत

राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री सकारात्मकः काँग्रेस प्रवक्ता महत


नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखको चयन दलीय सहमतिको आधारमा गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले दिएको बताएका छन् । 

प्रवक्ता महतले समग्र देश र संसदको प्रतिनिधित्व गर्नुपर्ने भएकाले सो पदहरुको निर्वाचन पनि दलहरुबीचको साझा सहमतिमा हुने कुरामा प्रधानमन्त्रीले नेपाली काँग्रेससँग नै प्रतिवद्धता गरेको बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा राष्ट्रपति पदको दुरुपयोग हुने संकेतहरु देखिएको भन्दै त्यस्तो हुन नदिन पनि आफ्नो पार्टीले राष्ट्रपतिसहितका राज्यका माथिल्लो संस्थाहरुको नेतृत्व चयन दलहरुबीचको सहमतिमा नै हुनुपर्ने प्रश्ताव अघि सार्नुपरेको स्पष्ट पारे । 

प्रवक्ता महतले सरकार बनाएजस्तो गरेर अल्पमत, बहुमतको आधारमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयनको विषयलाई बनाउन नहुने पनि दोहो-याए । उनले सभामुख, उपसभामुख पद र राष्ट्रपति, उपराष्ट्रपति पद महत्वपूर्ण संवैधानिक पद भएकाले पार्टीहरुले साझा दृष्टिकोण बनाउन जरुरी रहेको बताए । 

संवैधानिक पदहरु मन्त्री चयन गर्ने किसिमको नभएकाले प्रधानमन्त्रीले आफूले दिएको वचनवद्धता पूरा गर्नेमा आशावादी रहेको प्रवक्ता महतले बताए । उनले संवैधानिक पदहरुमा रहने व्यक्तिले पार्टीगत रुपमा नभइ समग्र देशको नै प्रतनिधित्व गर्ने भएकाले सबै पार्टीहरुले सोचेर निर्णयमा पुग्नुपर्ने बताए । 
 
प्रवक्ता महतले दलहरुबीच राष्ट्रपति लगायतका संवैधानिक पदहरुमा सहमति नभए आफ्नो पार्टीेले उम्मेदवारी दिने पनि स्पष्ट पारे । उनले संविधानको रक्षा गर्नका लागि आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताए । प्रधानमन्त्री दाहालले नै काँग्रेससँग विश्वासको मतको अपेक्षा गरेकाले संविधानको रक्षाका लागि नेपाली काँग्रेसले समर्थन गरेको उनले बताए । 

उनले काँग्रेसले प्रधानमन्त्रीको समर्थन कुनै पद प्राप्तिका लागि नगरेको बताए । उनले काँग्रेसले सरकारको नेतृत्व गर्छु भन्नु कुनै हिसावले गलत नभएको पनि बताए । काँग्रेस संवैधानिक व्यवस्थाको रक्षा हुनुपर्छ, आवश्यक परिवर्तनका कदमहरु संवैधानिक व्यवस्थालाई टेकेर सर्वदलीय छलफलबाट संसदबाट नै हुनुपर्ने पक्षमा रहेको बताए । 
 
प्रवक्ता महतले एमाले अध्यक्ष केपी ओलीले संविधानमाथि फेरि पनि धावा बोल्ने ढंगका अभिव्यक्ति दिएपछि काँग्रेसले त्यसको रक्षाका लागि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुपर्ने अवस्था आएको दोहो-याए ।

Logo