महिला क्रिकेटः एपीएफलाई हराउँदै सुदूरपश्चिम समूह विजेता

महिला क्रिकेटः एपीएफलाई हराउँदै सुदूरपश्चिम समूह विजेता


लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै सुदूरपश्चिम प्रदेश र प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् । 

इटहरीको जनता पार्कमा सम्पन्न दिनको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली एपिएफ क्लवलाई चार विकेट तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । दुवै टोली समूह विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्दा पराजय भोगेको एपिएफ समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

प्रतियोगितामा अब समूह बी बाट उपविजेताको टुङ्गो लाग्न बाँकी छ । प्रदेश १ ले सबै खेलमा स्पष्ट जित निकाल्दै समूह विजेता बन्दा दोस्रो र तेस्रो स्थानमा समान २/२ अंक जोडेका टोलीद्वय लुम्बिनी र मधेसबीचको भिडन्तपछि उपविजेताको टुङ्गो लाग्नेछ । दुवै टोली बुधवार प्रतिष्पर्धा गर्दैछन् ।

मंगलवार लगातार तेस्रो खेलमा सफलता निकाल्ने क्रममा सुदूरपश्चिम प्रदेशले एपिएफबाट पाएको ९२ रनको लक्ष्य निर्धारित २० ओभर सकिन चार बल बाँकी रहँदा ६ विकेटको क्षतिमा भेट्टायो । सुदूरपश्चिमका लागि डोली भट्टले सम्हालिएको प्रदर्शन गरिन् । ३८ बलको सामना गरेकी डोली भट्टले ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३३ र ऋतु कनोजियाले १० रन जोडे । कविता जोशी र रेवती धामी क्रमश ७ र ८ रनमा अविजित रहे । यसबाहेक अन्य खेलाडीको पनि राम्रो प्रदर्शन हुन सकेन । 

६ विकेट निकाल्ने क्रममा एपिएफका लागि  नेरी थापाले तीन तथा सुमन बिष्ट, इन्दु बर्मा र  कप्तान सीता राना मगरले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको एपिएफले निर्धारत २० ओभरमा नौ विकेट गुमाउँदै ९१ रनको योगफल तयार पारेको थियो । एपिएफका लागि ममता चौधरीले अविजित २६, रोमा थापाले १५, ज्योति पाण्डेले १४ र इन्दु बर्माले ११ रन जोडे । 

सुदूरपश्चिमका लागि कविता जोशीले तीन, ऋतु कनोजियाले दुई तथा कविता कुँवर र मनिषा चौधरीले समान एक विकेट लिए । 

समूह ए बाट सुदूरपश्चिमले तीन खेलबाट स्पष्ट ६ अंक बनाउँदा समूह विजेता बनेको हो । यस्तै समान तीन खेल बाट एपिएफले ४ अंक जोड्दै उपविजेता बनेको हो । क्रमश तेस्रो र चौथो स्थानमा रहेका वागमती प्रदेश र गण्डकी प्रदेशले दुवै खेल गुमाउँदा तालिकामा अंक विहीन छन् । यद्यपि दुवै टोलीले एक/एक खेल खेल्न बाँकी छ ।

यस्तै मंगलवार नै भएको दिनको पहिलो खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले पराजित ग-यो । कर्णालीले प्रश्तुत गरेको ४० रनको लक्ष्य प्रदेश एकले ४.५ ओभरमा कुनैपनि विकेट नगुमाई भेट्टायो । प्रदेश एकका लागि  कप्तान रुबिना क्षेत्रीले अविजित २२ तथा काजल श्रेष्ठले अविजित १३ रन जोडे । ओसिलो मैदानका कारण टसमा ढिलाई भएपछि खेललाई ११ ओभरमा छोट्याइएको थियो । 

यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित ११ ओभरमा पाँच विकेट गुमाउँदै ३९ रनको योगफल बनाएको थियो । कर्णालीका लागि रमा बुढाथोकीले १८ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रदेश एकका लागि ज्योति दनवार, रुबिना क्षेत्री, संगीता राई र काजोल राजवंशीले समान एक विकेट लिए ।

प्रतियोगितामा बुधवार समूह चरणका अन्तिम खेल हुनेछन् । दिनको पहिलो खेल मधेस प्रदेश र लुम्बिनी तथा दोस्रो खेल वागमती प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ ।

Logo