सबैभन्दा बढी देश घुम्ने क्रिकेटर बने सन्दीप लामिछाने

नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने सबैभन्दा बढी देश घुम्ने क्रिकेटरहरूको सूचीमा शीर्ष स्थानमा पर्न सफल भएका छन् । चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ले अफगानिस्तानका नजिबुल्लाह जर्दानसँगै सन्दीप लामिछाने शीर्ष स्थानमा पुग्न सफल भएको जनाएको छ ।

सन्दीप अक्टोबर २०१८ देखि सेप्टेम्बर २०१९ सम्मको अवधिमा टी–२० क्रिकेट खेल्नका लागि बढी देशको भ्रमण गर्ने खेलाडी बनेका हुन् । सन्दीपले यो अवधिमा ८ देशमा गएर टी २० खेलेका छन् । यो बीचमा उनले नेपालका लागि तीन वटा एक दिवसीय र ११ वटा टी २० पनि खेल्न भ्याएका छन् ।

सन्दीपले अहिलेसम्म भारतमा आइपिएल, युएईमा टी–१०, अस्ट्रेलियामा बिगबास, वेस्ट इन्डिजमा सिपिएल, बंगलादेशमा बिपिएल, पाकिस्तानमा पीएसएल, अफगानिस्तानमा एपिएल र क्यानडामा ग्लोबल टी–२० खेलिसकेका छन् । यसरी उनी एक वर्षको अवधिमा सर्वाधिक देशमा गएर टी २० क्रिकेट खेल्ने पहिलो खेलाडी बनेका हुन् ।

लामिछाने हालै ‘द हन्ड्रेड क्रिकेट’ र युएइमा हुने ‘टी टेन क्रिकेट’का लागि पनि अनुबन्धित भइसकेका छन् । सन्दीप छोटो अवधिमा सर्वाधिक कमाउने युवा पनि हुन् । उनको वार्षिक आम्दानी ५ करोड रुपैयाँभन्दा बढी छ ।

सन्दीप लेगस्पिनर बलर हुन् । उनको माग विश्वका हरेकजसो ठूलो फ्रेन्चाइज लिगमा हुने गर्छ । यसैका आधारमा उनी विश्वका हरेक लिगमा जाने गरेका छन् ।

सन्दीप एक वर्षको अवधिमा सर्वाधिक बलिङ गर्ने खेलाडीको सूचीमा समेत दोस्रो स्थानमा छन् । सर्वाधिक बलिङ गर्ने खेलाडीको सूचीमा अफगानिस्तानका रासिद खान छन् । उनले एक वर्षमा १ हजार ३ सय ५५ बल बलिङ गरेका छन् भने सन्दीप ९ सय ८५ बल बलिङ गर्दै दोस्रो स्थानमा पर्न सफल भएका छन् ।