इन्द्रहाङ गिरफ्तारीको सन्दर्भ : दोषी उम्कनु हुँदैन तर निर्दोष व्यक्ति फस्नु हुँदैन
  • प्रसुन संग्रौला –

भाइटीकाको दिन थियो, म त्यस दिन मामाघरकी बहिनीको हातबाट टीका लगाउन गएको थिएँ । आफन्तसँगको भेटघाट र कुराकानीमा व्यस्त भएका कारणले मैले कुनै पनि सामाजिक सञ्जाल प्रयोग गर्न पाएको थिइन । करिब राति ८ बजेतिर घर पुगेर वाइफाइ अन गर्नासाथ एउटा साथीको म्यासेज आयो । म्यासेजमा एउटा समाचारको लिङ्क पठाइएको थियो । लिङ्क खोलेर हेर्दा मलाई ठूलो झट्का लाग्यो । उक्त समाचार थियो, अनेरास्ववियूको केन्द्रीय सदस्य तथा आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव इन्द्रहाङ राईको गिरफ्तारी । उनलाई प्रहरीले बलात्कार गरेको आरोपमा पक्राउ गरेको थियो । त्यसै दिन आरआर स्ववियुले राईलाई स्ववियुको कुनै पनि गतिविधीमा संलग्न नगराइने भनेर विज्ञप्ति पनि प्रकाशित गरेको थियो ।

राईसँगको मेरो सम्बन्ध राम्रो थियो । हामीहरू एउटै क्याम्पसमा तीन वर्षसम्म सँगै पढेका थियौँ । उमेरले अलिक जेठो भएका कारणले राईलाई प्रायः सबैले इन्द्र दाइ भनेर बोलाउँथे । उनलाई कलेजमा निचिन्ने कमै विद्यार्थी थिए, कक्षामा त झन् उनी सबैको प्रिय दाइ थिए । सधैँ अनुहारमा मिठो मुस्कान बोकेर हिँड्ने, सबैसँग नरम आवाजले बोल्ने र जसलाई पनि सहयोग गर्ने इन्द्रहाङको क्याम्पसमा एकदमै राम्रो इमेज थियो । हजारौं विद्यार्थी अध्ययन गर्ने आरआर क्याम्पसमा त्यसरी लोकप्रिय हुनु सानो कुरा होइन, उनी क्याम्पसका शिक्षकहरू माझ पनि चर्चित नै थिए, विश्वासिला थिए । एक त विद्यार्थी नेता, त्यसमाथि मिलनसार स्वभाव भएका राईलाई क्याम्पसमा सबैले सम्मान गर्थे । महिला वर्गबीच पनि उनी प्रिय थिए, सबैसँग शिष्ट रूपले भेटघाट गर्थे ।

दाइसँगको मेरो पहिले भेट अझै पनि मलाई राम्रोसँग याद छ । पहिलो पटक हामी आर आर क्याम्पस नजिकैको एउटा चिया खाने होटेलमा भेटेका थियौं, त्यतिखेर एकजना मान्छे राजनीतिक विषयको कुरालाई लिएर इन्द्र दाइसँग ठूल्ठूलो स्वरले कराउँदै थियो, दाइमाथि आक्रमण पनि गर्न खोजेको थियो त्यस व्यक्तिले । त्यस्तो बेलामा पनि दाइ उक्त व्यक्तिसँग शालीनतापूर्वक नरम आवाजमा कुरा गर्दै हुनुहुन्थ्यो । अन्ततः झगडियासँग सम्झौता भइछाड्यो, हात हालाहाल हुन पाएन । त्यस्तो नरम एवं शालीन स्वभाव भएको मान्छे बलात्कारजस्तो आरोपमा संलग्न भएको सुन्दा एकछिन त विश्वास गर्न गाह्रो भएको थियो र अझै पनि भइरहेको छ ।
घटनापछि राईको बारेमा विभिन्न किसिमका प्रतिक्रयाहरू आउन थाले । हेर्दा सोझो हुनेहरू झन् फटाहा हुन्छन् भन्ने एकथरि थिए भने अर्कोतिर राईलाई फसाइएको हो भन्नेहरू पनि थिए । राईको नरम र सोझो स्वभावको फाइदा उठाएर उनलाई फसाउन खोजिएको हो भन्ने प्रतिक्रयाहरू पनि सुन्नमा आएको थियो ।

केही अनलाइन मिडियाहरूले भने राई कलेजमा झगडा गर्थे, दादागिरी गर्थे भनेर पनि लेखे । यो कुरा मलाई अलि पचेन । म प्रायः हरेक दिन क्याम्पस जाने विद्यार्थी हुँ तर राईले तीन वर्षको अवधिमा अहिलेसम्म त्यस्तो खालका गतिविधी गरेको चाल पाएको छैन, मैले यस विषयमा अरू साथीहरूसँग पनि कुरा गरेको थिएँ । उनीहरू पनि यो कुरालाई स्विकार्न तयार भएनन् ।

सरकारी कलेजमा पार्टीहरूबीच बेलाबेलामा झगडा हुनु भनेको सामान्य कुरा हो । एक पटकको कुरा हो । नेविसंघ र अनेरास्ववियूका विद्यार्थीहरूबीच झगडा परेको थियो । त्यस घटनाको केही बेरमै राईसँग मेरो कुरा भएको थियो । कुराकानीका क्रममा राईले भनेका थिए– ‘झगडाले कहिले पनि समस्याको समाधान गर्दैन, यसबाट कहिले पनि कसैको भलो हुँदैन र झगडा गर्नु भनेको समयको बर्वादी हो ।’ उनको कुरा सुन्दा लाग्थ्यो, उनलाई हिंसा भन्ने कुरादेखि एकदमै घृणा थियो । त्यस्तो विचार राख्ने मान्छेलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको सुन्दा विश्वास गर्न त पकै पनि गाह्रो भई नै हाल्छ ।

क्याम्पसमा चुनावको कुरा हुँदा राई आफू अर्कोपालिको स्ववियु चुनावमा सभापतिको पदमा उठ्ने कुरा पनि हामीलाई बताउँथे, उनी कलेजका एक विश्वासिला र लोकप्रिय पात्र भएका कारणले उनलाई सबैले हौसला दिन्थे । सबैले विश्वास गरेको पात्र यस्तो अपराधमा आरोपित भएको देख्दा धेरैलाई ठूलो धक्का लागेको छ ।

यस्ता किसिमको घटनाले समाजमा ठूलो असर पार्छ । नजिकैका साथीभाइ तथा आफन्तहरूलाई विश्वास गर्न हजारपल्ट सोच्न बाध्य बनाउँछ । को सही को गलत, को विश्वासिलो, को अविश्वासिलो भन्ने गम्भीर प्रश्न खडा गर्छ ।

यो लेख कसैको सर्मथनमा लेखिएको होइन, यो एउटा समाजमा भएको निकै दुःखपूर्ण घटनाले जन्माएको लेख हो । दोषी जोसुकै होस्, उसमाथि कडाभन्दा कडा सजाय हुनुपर्छ । तर व्यक्ति निर्दोष छ भने उसलाई फसाइनु हुँदैन । कुरा यत्ति हो !