उपकुलपतिका लागि ४० जनाले बुझाए विवरण

काठमाडौं,
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ विश्वविद्यालयका उपकुलपति र दुई विश्वविद्यालयका सेवा आयोगका अध्यक्षसहित सदस्य हुन इच्छुकलाई आवेदन माग गरेपछि ४० जनाले आवेदन दिएका छन् । सात दिनभित्र आफ्नो व्यक्तिगत संक्षिप्त विवरण बुझाउन शिक्षा मन्त्रालयले आह्वान गरेपछि शिक्षा क्षेत्रमा योगदान दिएका व्यक्तिहरूले हिजो बिहीबारसम्म व्यक्तिगत विवरण पेस गरेका हुन् ।

‘उनीहरूले इमेल, मन्त्रालयको उच्च शिक्षा महाशाखा, मन्त्रीको सचिवालय र सचिवलाई नाम उपलब्ध गराएका हुन् ।’ –मन्त्रालय स्रोतले भन्यो । इमेलबाट आवेदन नहाल्नेले मन्त्रालयमै पुगेर पनि बुझाउन सक्ने व्यवस्था गरेपछि कतिपयले मन्त्रालयमै गएर आफ्नो योग्यतासहितको व्यक्तिगत विवरण बुझाएका हुन् ।

मन्त्री गिरिराजमणि पोखरेलले उपकुलपतिका लागि आफूलाई समेत केही व्यक्तिले व्यक्तिगत विवरण उपलब्ध गराएको जानकारी दिँदै भन्नुभयो– ‘विवरण माग गरेलगत्तै करिब ४० जनाले नाम दिएका छन् । उहाँका अनुसार आज शुुक्रबार वा आज नभए आइतबारसम्म पहिलोचरणको नाम सार्वजनिक गर्ने तयारी छ।
नेपाल समाचारपत्रबाट