प्रदेश नम्बर २ मा लगातार दुई दिन सार्वजनिक विदा

प्रदेश नम्बर २ ले छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबारका दिन सार्वजनिक विदा दिएको छ । पछिल्लो हप्ता तिहारको लगातार चार दिन विदा रहेको प्रदेशमा आइतबार छठ पर्वको अवसर पारेर प्रदेश सरकारले विदा दिएको हो ।

यस पटकको छठ पर्व शनिबार र आइतबार परेको छ । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदै छ । यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँदै आएको थियो । २०७४ सालको छठ पर्वमा शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो पटक छठ पर्वमा दुई दिन विदा दिएको थियो ।

छठ पर्व कठिन भएकाले दुवै दिन विदा दिनुपर्ने ठहर गर्दै प्रदेश सरकारले आफ्नो क्यालेण्डरमा छठमा दुई दिन विदा दिने उल्लेख गरेको छ ।

शनिबार स्वतः विदा हुने भए पनि छठ पर्वको अवसर पारेर शनिबार र आइतबार समेत प्रदेश सरकारले विदा दिएको छ । यो दिन शनिबार परे पनि संघीय सरकारले समेत विदा दिएको सूची बनाएको छ ।

२ नम्बर प्रदेश सरकारले संघीय सरकारले दिएको विदाभन्दा नौ दिन बढी विदा दिने गरी आफ्नो वार्षिक क्यालेन्डर बनाएको छ । संघीय सरकारले २०७६ सालमा १५ दिन विदा दिने सूची बनाएको छ भने प्रदेश २ सरकारको विदा संघीय सरकारको विदामा ९ दिन जोडेर जम्मा २४ दिन छ ।

…..