बसको ठक्करबाट दुई बालकको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
File Photo

बसको ठक्करबाट दुईजना बालकको मृत्यु भएपछि कारवाहीको माग गर्दै मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनियाँ सडकखण्डमा अवरोध खडा गरेका छन् ।

कैलालीको बर्दगोरिया गाउँपालिका बौनियाँमा बिहीबार साँझ बसले ठक्कर दिएपछि बर्दगोरिया गाउँपालिका–१ का आठ वर्षीय अंशु चौधरीको भारतको लखनउ तथा घोडाघोडी नगरपालिका–८ का १२ वर्षीय लक्ष्मण चौधरीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गर्दागर्दै मृत्यु भएपछि स्थानीयवासीले राजमार्गमा अवरोध खडा गरेका हुन् ।

साइकलमा सवार बालकहरूलाई महेन्द्रनगरबाट काठमाडौँ गइरहेको ना ७ ख ६०४६ नम्बरको यात्रुबाहक बसले साँझ ५ बजे बर्दगोरिया –१ साझा चोकमा ठक्कर दिएको थियो । उनीहरूलाई ठक्कर दिने बस इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

राजमार्ग अवरुद्ध भएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ । यात्रुहरू अलपत्र परेका छन् ।