प्राकृतिक स्रोतबाट निर्माण गरिएका संरचनाले भूकम्पमा कम क्षति हुन्छ–नारायणमान बिजुक्छेँ

प्राकृतिक स्रोतबाट निर्माण गरिएका संरचनाले भूकम्पमा कम क्षति हुन्छ–नारायणमान बिजुक्छेँ


भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भक्तपुरको दत्तात्रयमा जनचेतनामूलक शैक्षिक प्रदर्शनी आयोजना गरेको छ ।

प्रदर्शनीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले उद्घाटन गरेका छन् । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले माटो जोडाइ, ढुंगा र काठ तथा प्राकृतिक स्रोतको प्रयोगबाट मौलिक शैलीमा घर निर्माण गर्नेतर्फ अनुसन्धानको आवश्यकता रहेको बताउँदै मौलिक कला र सिपयुक्त प्रविधिबाट निर्माण भएका संरचनाले ठूल्ठूला भूकम्पमा कम क्षति भएको बताए ।

भवन निर्माणमा आधुनिक तथा नयाँ नयाँ प्रविधि प्रयोग बढेसँगै मौलिक घर लोप हुँदै गएको बताए । उनले देखावटीको निम्ति मात्र पुरानो शैलीको घर निर्माण गर्नु गलत भएको बताए । सिमेन्टको घरले फोक्सो तथा नसासम्बन्धी धेरै रोग निम्त्याइरहेकोतर्फ सजग पार्दै अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरूले अनुसन्धानलाई जोड दिँदै भूकम्प प्रतिरोधी घर निर्माण गर्नेतर्फ जनतालाई सचेत पार्ने काम गर्दै जानुपर्ने बताए ।

कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्पले क्षति मात्र नभई सहर पुनःनिर्माणको अवसर पनि मिलेको बताउँदै भक्तपुर नगरपालिकाले भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड तयार गरी भूकम्प प्रतिरोधी निर्माणको लागि आवश्यक व्यवस्था मिलाउँदै आएको बताए ।

भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप ईन्जिनियरिङ कलेज र ख्वप कलज अफ ईन्जिनियरिङबाट विकास निर्माणको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरी बलियो र भरपर्दो निर्माणको लागि राष्ट्रिय रुपमा टेवा पुर्याउँदै आएको बताए । नपाले प्रत्येक वर्ष भवन निर्माण कार्यमा संलग्न डकर्मी, सिकर्मीलगायत प्राविधिकहरुलाई भूकम्प प्रतिरोधी प्रविधिसम्बन्धी तालिम प्रदान गर्दै आएको बताए ।

भक्तपुरका प्रजिअ रुद्रादेवी शर्माले सन् १९९० सालको भूकम्पको स्मरणस्वरुप प्रत्येक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको बताउँदै खुल्ला क्षेत्र र सार्वजनिक ठाउँको संरक्षणमा स्थानीय तहले आवश्यक पहल गर्नुपर्ने बताए । 

Logo