आलमविरुद्ध जन्मकैद सजायँ दाबी
file photo

रौतहट,

नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलमविरुद्ध प्रहरीले तीनवटा आरोप लगाएको छ।

प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा आरोप लगाई जन्मकैद सजाय माग दाबी गरिएको छ।

रौतहट प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आलमकै निर्देशनमा बम बनाउन प्रत्यक्षरुपमा मानिस परिचालन गरेको, विस्फोटपछि घाइते भएकालाई जिउँदै इँटाभट्टामा लगेर जलाएको तथा उजुरी गर्नेलाई समेत हत्या गरेको निष्कर्ष निकाली अभियोजन पत्रमा आलमलाई आजीवन कारावासको सजाय माग दाबी गरिएको हो । आलम २० दिनदेखि प्रहरी हिरासतमा छन् ।

‘हामीले अनुसन्धान पूरा गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएका छौं। जेजे देखियो त्यही कुरा अनुसन्धानमा समेटेका छौं,’ रौतहटका प्रहरी प्रमुख भूपेन्द्र खत्रीले भने, ‘आलमले १२ वर्ष अघि रौतहटमा इँटाभट्टाभित्र मान्छे जलाएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।’ उनका अनुसार सो घटनामा घाइते भएका व्यक्तिहरुको बयान, प्रत्यक्षदर्शी, तत्कालीन समयमा कार्यरत सरकारी कर्मचारी तथा अन्य स्रोतसमेत दसी प्रमाणको रुपमा पेश गरिएको छ।

प्रहरीले विस्फोटमा घाइते भई उपचारका लागि भारतस्थित एक क्लिनिकमा गएका व्यक्तिको उपचार रिपोर्टलाई पनि प्रमाणका रुपमा पेस गरेको छ। त्यसका ब्लाष्ट इन्जुरीका कारण उपचार गरिएको उल्लेख छ। साथै १२ जना साक्षी, पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणा र तत्कालीन मध्यक्षेत्रका प्रमुख (डिआइजी) किरणकुमार गौतमको बयानलाई पनि प्रमाणको रुपमा पेस गरिएको छ। तत्कालीन समयमा राणा र गौतमले आफूहरुलाई बम विस्फोटको रिपोर्टिङ भएको बताएका थिए। त्यसैगरी तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदीले पनि त्यहाँ बम विस्फोट भएको बयान दिएका छन्।

आलमले भने बयानमा आफूलाई त्यस घटनाबारे थाहा नभएको, घटना नै नभएको भन्दै इन्कारी बयान दिएका छन्। ०६४ चैत २७ गते रौतहटको राजपुर–४ मा बम विस्फोट हुँदा केही मानिस मरेको र केही घाइते भएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।
नागरिकबाट