मैले असुरक्षित महसुस गरेको छु -कैदी अभिषेक गिरी

मैले असुरक्षित महसुस गरेको छु -कैदी अभिषेक गिरी


राष्ट्रिय राजनीति सभामुख उपसभामुख निर्वाचनमा केन्द्रित रहेसँगै एकजना कैदीको कारागार सरुवाको विषय पनि चर्चाको विषय बनेको छ । 

मोरङ कारागारमा जेल जीवन बिताइरहेका कैदी अभिषेक गिरीले आफूलाई ‘इन्काउन्टर’ गर्ने योजना बनाइएको भन्दै जीवन रक्षाको याचनागरेको विषय चर्चामा छ । जेल सजाय पूरा गरी रिहा हुन एक महिनाभन्दा कम समय बाँकी रहँदा आफूलाई मार्ने योजना बनाएर भीमफेदी कारागार सरुवा गरिएको भन्दै उनी अदालत पुगेका हुन् । 

गृह मन्त्रालयको ठाडो आदेश भन्दै गिरीलाई कारागार प्रशासनले सरुवा गर्ने योजना बनाएको कैदी गिरी सम्वद्ध पक्षको दावी छ । जेल सजाय भुक्तान गरीआगामी फागुनमा उनी रिहा हुनेतयारीमा छन् । जेल सजाय पूरा हुन एक महिना भन्दा कम समय बाँकी रहेको अवस्थामा आफूलाई गलत नियतले सरुवा गर्न लागिएको भन्दै उनले उच्च अदालत, विराटनगरमा रिट निवेदन पनि दायर गरेका हुन् । 

जेल सजाय पूरा गरेको तथा आफ्नो चालचलनमा पर्याप्त सुधार आएको भएपनि बदनियत् पूर्ण तरिकाले कारागार सरुवा गर्न लागिएको भन्दै सरुवा रोक्ने मागसहित कैदी गिरी अदालतको शरणमा पुगेका हुन् । आफ्ना वकिल मार्फत दिएको निवेदन उच्च अदालतमा दर्ता भएपनि सुनुवाई भने भएको छैन ।

यसअघि गिरी काठमाडौंको डिल्लीबजार कारागारबाट मोरङ सारिएका थिए । विराटनगरका स्थानीय समेत रहेका गिरी कांग्रेस सरकारका पालामा गृहमन्त्री बालकृष्ण खाँडले उनको सरुवा गरेका थिए । कांग्रेस निकट मानिने गिरी गुण्डागर्दीमा सक्रिय रहेको र जेलभित्रैबाट गैरकानुनी गतिविधिहरु गरेको प्रहरीको आशंका छ । 

सुरुमा उनलाई मोरङ सरुवा गर्दा त्यहाँका कैदीबन्दीले विरोध गरेका थिए । उनी काठमाडौंको कारागारमा ल्याउनुभन्दा पहिले पनि मोरङ कारागारमा नै रहेका थिए । त्यहाँ उनले अन्य कैदीबन्दीलाई कुटपिट गर्ने गरेकाले काठमाडौं पठाइएको थियो । तर खाँड गृहमन्त्री बनेपछि उनी पुनः २०७८ कात्तिकमा मोरङ सरुवा भएका थिए । यद्यपि अहिले भने माहोल फेरिएको छ । मोरङका धेरै कैदीहरु गिरीलाई सरुवा गर्न हुँदैन भन्दै केहीदिन अघि धर्ना नै बसेका थिए । 

कैदी गिरीले पहिले गरेकै कार्य पुनः दोहोर्‍याएका कारण उनलाई सरुवा गर्न लागिएको कारागार व्यवस्था विभागका अधिकारीको भनाइ छ । कारागारमा अभद्र व्यवहार गरेको र त्यहाँ राख्नस नसक्ने अवस्था आएपछि उनलाई सरुवा गर्न लागिएको बताइएको छ । अराजक चरित्रका गिरीले कारागारभित्रै कैदीबन्दीहरुलाई दुख दिने गरेकोले उनलाई सरुवा गर्नु पर्ने अवस्था आएको विभागका अधिकारीको भनाइ छ । 
कारागार सार्ने बहानामा इन्काउन्टर गर्ने योजना बनाइएको भन्ने गिरीको आरोप सत्य नभएको नेपाल प्रहरीले जनाएको छ । नेपालमा मृत्युदण्डको सजाय नभएको तथा प्रहरीले सबैको संरक्षण गर्ने भएकाले इन्काउन्टर गर्ने कुरामा कुनै सत्यता नभएको प्रहरीको दाबी छ । 

यता गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने यो कारागारको विषय सार्वजनिक गर्ने विषय नभएकोले आफूले यस विषयमा नबोल्ने बताए । केन्द्रबिन्दुसँगको टेलिफोन सम्पर्कमा पोखरेलले भने, कैदीहरु प्रहरीबाट असुरक्षित रहन सक्दैन । 

कैदी अभिषेक गिरीको जेल सजाए आगामी फागुन ३ गते भुक्तानी हुँदैछ । उनी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भोगिरहेका छन् ।

Logo