विमोचन शृङ्खला
  • रमेश शुभेच्छु

आजको जमाना माने विज्ञापनको जमाना । आफ्नै देशमा के हुँदै छ ? यसो देशकै अवस्था त हेर्नुहोस् । कुन जमानामा हुनुहुन्छ तपाईँ ? एउटा मन्त्री हेलिकप्टरमा उडेर गएर गाउँको धाराको टुटी खोलेर उद्घाटन गर्छन् । एउटा सांसद् जहाज चढेर, फेरि गाडी रिजर्भ गरेर गाउँमा पुगेर ट्वाइलेटको ढोका खोलेर उद्घाटन गर्छन् । जहाज चढेर, गाडी चढेर, घोडा चढेर र त्यति गर्दा नभए कार्यकर्ताको बुइ चढेर केन्द्रका नेता गाउँ सहरका कार्यक्रमका रिबन काट्छन् । तिनले उद्घाटन गरेका समाचार मालामाल बन्छन् । तिनै समाचारले पत्रिका भरिन्छन् । रेडियो र टेलिभिजन भरिन्छन् । तपाईं भने चुपो लागेर कोठमा बसेर लेख्नुहुन्छ । अनि किताब कसैले पढिदिएन भनेर गुनासो गर्नुहुन्छ । बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्तैन । जाबो जमानाको जाल पनि बुझ्नुहुन्न तपाईँ ।

मलाई लाग्छ, विना विमोचनका, विना हल्लाका, विना तामझामका पुस्तक कसले पढ्छ ? पढ्दैन, पढ्दै पढ्दैन । अझ ठूला नेताले विमोचन नगरेका किताब कल्ले पढ्छ ? झन् पढ्दैन, पल्टाएरै हेर्दैन । अब अलिकति त अरूको देखेर पनि बुझ्नु नि भन्छु । कुरो बुझ्नु छैन । उही मेरा गोरुको बाह्र टक्का भन्यो, बस्यो । गोरुको भाउ फेरिए जस्तै हिजोका पुस्तक आज किताब भएर कहाँबाट कहाँ पुगिसके ? तपाईँ भने मेरो किताब राम्रो छ । मेरो किताब विमोचन गर्नुपर्दैन । मेरो किताब सबैले पढिहाल्छन्, यस्तै अन्टसन्ट केके केके भन्नुहुन्छ । खाजामा ममले पिटेका बेला यस्ता बौद्धिक कुरामा पनि म, म, म मात्र भनेर हुन्छ ? अरुको अवस्था के छ बुझ्नु पर्दैन ? हल्लाले त पल्ला पो उल्टाउँछ त बाइ ?

आजको जमाना प्रचारको जमाना । यस जमानामा प्रचारविनाको काम प्रमुख बन्न सक्तैन । प्रचार गर्ने शैली कहाँबाट कहाँ पुग्यो । मान्छे पेन्टी किन्ने बेलामा त अनलाइनमा हेरेर छान्छन् । कुन साइज, प्रकार, रङ र डिजाइन राम्रो देखिन्छ आदि जाँचेर ठहराएर किन्छन् । पेन्टी त विज्ञापनका आधारमा किनेपछि, ब्रा सेन्डो कसरी किन्छन् कुरै छोडूँ । मोजा किन्न त विज्ञापन हेरेर किन्छन् भने जुत्ता चप्पलको कुरै नगरूँ । हात धुने साबुन त विज्ञापन हेरेर किन्छन्, सर्फ र फेसवासको कुरै नगरूँ । नारीेका गरगहनाको त विज्ञापनका आधारमा किनबेच हुने नै भयो । जनै र टुपीको त विज्ञापनअनुसारको खरिदी र पलाइ हुर्काइ हुन्छ । होइन, तपाईंका किताब खोजीखोजी पढिदिन कोचाहिँ फुर्सदमा छ ? आज विज्ञापनको जमाना हो लेखकज्यू, दायाँबायाँ सब विज्ञापनको जमाना । विज्ञापन नभएको सुन पनि पित्तल हुन्छ । देश गुनाको भेष हुन्छ । ठाउँ गुनाको नाउँ हुन्छ । तपाईँको आदर्श धेरै पुरानो भइसक्यो ।

तपाईं भन्नुहुन्छ, विना विमोचनका, विना हल्लाका, विना तामझामका पुस्तक खोजीखोजी पढिदिने विद्वान् छन् । हुन त होलान् तर त्यस्ता केही विद्वानले पढेर केही हुँदैन । तपाईँको विकासमा केही लछारिँदैन । साहित्यको गुणस्तर नामको चट्टानमा केही तछारिँदैन । किताब चर्चित बनाउन त भव्य विमोचन गर्नुपर्छ । विमोचनका लागि भव्य मञ्चसज्जा गर्नुपर्छ । भव्य खाजा खुवाउनुपर्छ । अलि मुखाले समालोचकलाई कमीकमजोरी चाहिँ नऔँल्याइदिनु है भनेर भाषण गर्न लाउनु पर्छ । त्यस्तो छुद्र समालोचकले पनि राम्रो भन्यो भनेपछि सब चुपचाप । त्यस्ता भाषणकर्ताका गोजीमा खाम राखिदिनुपर्छ । एउटा ठूलो फ्रेममा सम्मानपत्रशैलीको आभारपत्र चढाउनुपर्छ । केही टिभीका पत्रकारलाई खामसहित सहभागिताका लागि अनुरोध गर्नुपर्छ । चर्चित दैनिक र साप्ताहिकका सम्पादकलाई अझ राम्रो कुनै आकर्षक व्यवस्था गर्नुपर्छ । उनीहरुलाई पनि उही शैलीको मन तान्ने मायाको चिनोको व्यवस्था गर्नुपर्छ । मेसो मिलेसम्म साँझमा यो लेखक जत्तिको लेखक अरू कोही छैन भनाउने गरी तागतिलो जल पिलाउनुपर्छ । कार्यक्रममा आएजति चिनिएका साहित्यकारलाई आसन ग्रहण गराउनुपर्छ । मिलेसम्म उनीहरुलाई एकएकवटा जाडो छेक्ने बर्को ओडाउनु पर्छ । सहभागी जतिलाई राम्रो झोलामा राखेर आफ्नो नयाँ किताब उपहारै गरेर ससम्मान पठाउनुपर्छ । अनि त किताब रातारात चर्चा भइहाल्छ नि । केही त देखासिकी पनि गर्नुपर्छ नि लेखकज्यू । त्यसै भनेका हुन् र बुढापाकाले ‘कुरो बुझ्नु घरतिर कुद्नु’ भनेर ।

तपाईं भन्नुहुन्छ, असली किताब पढ्ने पाठक भए नेपाली साहित्यको भलो हुने थियो । कुन् दूध, कुन् पानी छुट्टिने थियो । मेरा विचारमा यो दुधपानीको कुरा पुरानो हो । आज रजहाँसले पनि छुट्याउन छाडिसके । अब दुधपानीको कुरा नगर्नुहोस् । मेजमानीको कुरा गर्नुहोस् । मेजमानी पनि मान्छे रन्थन्याउने हुनुपर्छ । होइनलाई हो भन्ने र होलाई होइन भन्न सक्ने हुनुपर्छ । हेर्नुहोस् प्रत्येक वस्तुको विज्ञापन हुनै पर्छ । प्रचार प्रसार हुनैपर्छ । विज्ञापनले वस्तुको गुण बढाउँछ । पित्तललाई सुन पार्छ । फलामलाई चाँदी बनाउँछ । ढुङ्गालाई पत्थर, पन्ना बनाउँछ । सापलाई नाग बनाउँछ । कार्यकर्तालाई नेता बनाउँछ । विज्ञापनको यो तागन विद्वान् र बौद्धिक कर्ममा पनि लागू हुन्छ । जमानाअनुसार चल्न सक्नुपर्छ लेखकज्यू । नभए त तपाईं पनि डेटअफ हामी पनि डेटअफ ।

किताबको विज्ञापन भनेको विमोचन । विमोचन पनि एक ठाउँमा गरेर हुँदैन आज । पहिलो कुरा त राजधानीमा आँखा चिम्लेर खर्च गरेर गर्नुपर्छ । भरिसक्के केन्द्रीय राजनीतिका चर्चित नेता, मन्त्री वा प्रधानमन्त्रीलाई बोलाएर भाषण गर्न लगाउनुपर्छ । केही साहित्यका ठेकेदारलाई पनि भाषण गर्न लाउनुपर्छ । त्यसको एक हप्तापछि प्रदेशको राजधानीमा गएर अर्को झन् भव्य विमोचन गर्नुपर्छ । त्यहाँ पनि त्यसै गर्नुपर्छ जसो केन्द्रमा गरिएको थियो । भरिसक्के मुख्यमन्त्री, प्रदेशमन्त्री या सभासद्लाई थर्काउने माइकमा भाषण गराउनुपर्छ । त्यसपछि आफ्ना गृहजिल्लामा गएर त्यही किताबको गृहविमोचन गर्नुुपर्छ । त्यहाँ जिल्ला तहका नेता, उद्योगपति, व्यापारी लेखक सबैलाई भाषण गराउनुपर्छ । त्यसपछि आफ्नो पालिकामा गएर र वार्डमा गएर अर्को अर्को र अझ अर्को विमोचनको संस्करण चलाउनुपर्छ । अनि पो सबैले किताब आएको कुरा थाहा पाउँछन् र किन्छन् । किताब छापेर आफैँ गतिलो छु भनेर बसेर हुन्छ लेखकज्यू ? आज जति पनि चर्चामा आएका लेखक छन् नि त्यति नै पटक विमोचन गरेर चर्चित भएका हुन् । त्यति नै पटक मेजमान खुवाएर वरिष्ठ कहलिएका हुन् । यति कुरा नबुझी कसरी साहित्य लेखिन्छ ? म त यहाँको ताल देखेर पनि बेताल हुन्छु भन्या । आजका जमानामा वरबधु त विज्ञापन हेरेर छानिन्छ । विज्ञापनविनाका किताब कसले छान्छ ?

तपाईँ भन्नुहुन्छ, लेखिरहनुपर्छ । अहिले नपढिए पनि पछि पढिन्छ । आज लेखनाथ, देवकोटाहरू पढिँदै छन् । भानुभक्त र उदयानन्द पढिँदै छन् । तर तपाईँको यस भनाइको पनि कुनै दम छैन, कुनै अर्थ छैन । एउटै किताव लेख्नेले ठूला ठूला पुरस्कार पड्काउँछन् । धेरै लेख्ने हेरेको हेर्‍यै हुन्छन् । तपाईंले नाम लिएका मान्छेले केचाहिँ पुरस्कार पाएका थिए ? जताबाट जसरी भए पनि आफ्नो प्रचारचाहिँ गर्नुपर्छ । पहुँचचाहिँ बनाउनुपर्छ । पहुँच बढाउने बाटो पार्टीको पनि हुन सक्छ । नारी समूहको पनि हुन सक्छ । साथी समूहको पनि हुन सक्छ । भजन मण्डलीको पनि हुन सक्छ । खानपानको पनि हुन सक्छ । राम्रो लेखेर, गुणस्तरको किताब बनाएर मात्र काम छैन । छ भने प्रचारको काम छ । भव्य विमोचनको काम छ । केही छ भने विमोचनको भोजको स्वादमा छ । विमोचनका दिन बाँडिएको खाममा छ । विमोचनको सम्मान र मायाको चिनोमा छ । विमोचनमा दिएको उपहारमा छ । जय विमोचन । जय विज्ञापन । जय प्रचारप्रसार ।