कतार सरकारद्वारा पीडित नेपालीका लागि ९५ लाख बराबरको राहत सामग्री सहयोग

कतार सरकारद्वारा पीडित नेपालीका लागि ९५ लाख बराबरको राहत सामग्री सहयोग


  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कतारमा कोरोनाको कारण समस्यामा परेका नेपालीहरुलाई बितरण गर्नका लागि दोस्रो चरणमा वृहत राहत प्याकेज सहयोग स्वरुप प्राप्त भएको छ। कतार सरकारको आन्तरिक मन्त्रालय, टेलिकम कम्पनी ओरीडो, गृह मन्त्रालय तथा लेवर मन्त्रालयको संयुक्त सहयोगमा कतार च्यारीटि मार्फत दोस्रो चरणको राहत प्याकेज प्राप्त भएको जानकारी गैरआवासिय नेपाली संघ कतारले एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

नेपाली राजदूतावासको हलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले पहिलो चरणको राहत प्याकेजको कूल राशी तथा गुणस्तरबारे मिडिया र समुदायमा भिन्नभिन्न धारणाहरु बनेका कारण सरकारको दोस्रो राहत अनुदानबारे मिडिया मार्फत समुदायमा जानकारी दिन सम्मेलनको आयोजना गरिएको बताए। ईस्लाम धर्मावलम्बीहरुको पबित्र पर्व ईद उल अजहाको अवसरमा ‘हामी सबैको एउटै ईद’ भन्ने उद्देश्यले कतार सरकारले संघ मार्फत खाद्यान्न सामग्रीको अभावका कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई उक्त सामग्री उपलब्ध गराउन गरिएको आग्रह र सहजीकरणका निमित्त संघले समन्वय गरेर कार्य गरिरहेको बताउँदै उक्त किट प्रदान तथा स्वयंसेवकको भूमिकामा जोडिन कतारमा रहेका सम्पूर्ण संघ संस्थालाई आग्रह गरेका छन् ।

पहिलो चरणमा एक करोड माथिको सहयोग सामाग्री सहयोग गरेको सरकारले दोस्रो चरणमा करीब ९५ लाख बराबरको सामग्री सहयोग गरेको हो । अलमीरा मार्फत प्याकिंङ्ग गरिएको फुड किटको मूल्य एक प्याकेट बराबर करीव १३६ रियाल रहेको र कूल २,२५० वटा राहत किट संघले प्राप्त गरेको जानकारी सम्मेलनमा गराईएको थियो । संघले कतारमा स्थापित संघसंस्थाहरुको सहयोग र समन्वयमा राहत प्याकेज वितरण गर्ने भएको छ । उक्त किटमा चामल २ किलो, चिनी २ किलो, मिल्क पाउडर ५०० ग्राम , आँटा १ किलो, मसला १ पाकेट, आधा किलो घिउ, गेडागुडी १ क्यान, नुन १ किलो, टुना २ पिस , दाल १ किलो, ड्राई फ्रुट २५० ग्राम एकपाकेट चिया पत्ति र १.८ लिटरको तेल रहेको छ ।

कार्यक्रममा आईसीसी सचीव आरके शर्मा, मध्यपूर्व संयोजक प्रबिण गुरुङ्ग, आईसीसी सल्लाहकार टीवी कार्की लागायत आईसीसी सम्वद्ध विभिन्न ओहिदासीन प्रतिनिधिहरुको उपस्थिति थियो।

Logo