स्वर्ग झैँ सुन्दर सुन्दरीजल

सौन्दर्यकी खानी सुन्दरीजल
आँखाकी नानी सुन्दरीजल
भन्नेहरू के के भन्छन् भनून्
हृदयकी रानी सुन्दरीजल
स्वर्गभन्दा सुन्दर कहीँ छ भने
त्यो त केवल दानी सुन्दरी जल !

नेपालको राजधानी काठमाडौँ सहरबाट करिब १७ किलोमिटर उत्तर पूर्व कुनामा अवस्थित सुन्दर प्राकृतिक छटाले भरिएको ठाउँ हो सुन्दरीजल । सुन्दरीको अर्थ राम्रो र जलको अर्थ पानी हो ।

सुन्दरीजल प्रदेश नम्बर ३ बागमती अञ्चलको काठमाडौ जिल्लामा रहेको सुन्दर ठाउँ हो । सुन्दरीजललाई शिवपुरी तथा नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको रूपमा पनि लिइन्छ । यहाँबाट वागद्वार हुँदै बुढानिलकण्ठसम्म प्राकृतिक सौन्दर्यको रसपान गर्दै हाइकिङको मजा लिन सकिन्छ । पैदल यात्राबाटै गोसाइँकुण्ड तथा हेलम्बुसम्म पनि जान सकिन्छ ।

सुन्दरीजलको जम्मा क्षेत्रफल ५ दशमलव १८ वर्ग किलोमिटर छ । यहाँको जम्मा जनसंख्या २०६८ को गणना अनुसार २ हजार ५ सय ५२ छ । सुन्दरीजलको प्रकृतिक सुन्दरताका अतिरिक्त यसको ऐतिहासिक तथा धार्मिक महत्व पनि रहेको छ । यहाँ हिन्दुहरूको पूज्य देवी सुन्दरीमाईको मन्दिर पनि छ । जहाँ वर्षेनी हजारौँ दर्शनार्थी आउने गर्दछन् । यसले आफ्नै धर्मिक महत्व बोकेको छ ।

यहाँ आउने आन्तरिक पर्यटकलाई धार्मिक पर्यटनसँग जोड्न सके सुनमा सुगन्ध हुने थियो । यहीको बाटो हुँदै सुन्दर र कञ्चन बागमती बग्ने गर्दछ । यसले नुवाकोट र सिन्धुपाल्चोक जिल्लालाई समेत छुने गर्दछ । स्यालमती र नागमती नदीको संगमस्थाल पनि सुन्दरीजल नै हो ।

सुन्दरीजल पुग्नका लागि पहिला चावहिल आइपुग्नु पर्दछ । त्यसपछि सुन्दरीजल जाने बस तथा अन्य साधनहरू प्रशस्तै पाइन्छन् । सुन्दरीजल बसपार्क पुगेपछि रमाइलो हिँडाइको यात्रा तय हुन्छ । केही किलोमिटरको पैदल यात्रापछि सुन्दरीजल पुग्न सकिन्छ । बाटामा यत्रतत्र बागमती नदी कहीँ ढुङ्गामा लुकामारी खेलिरहेको देख्न सकिन्छ त कहीँ कलकल बगेको कञ्चन पानी र कतै सफा र लोभलाग्दा सुन्दरतालाई हेर्दै आधा घन्टाको उकालोपछि सुन्दर झरना देख्न सकिन्छ । जसले हरेक मानिसको मनलाई आकर्षित गर्दछ । त्यहाँ पुगेर झरनाको मनोरमा दृश्यलाई आँखाभरि अघाउन्जेल हेरेर कहिल्यै मन अघाउँदैन ।

सुन्दरीजलको पानीमा संगीतको झंकार छ, ब्रह्मको नाद छ, अनि प्राणधारीको जीवन छ । यहाँको वनजङ्गलमा गुञ्जने चरा तथा झ्याउँकिरीको मधुर गान जत्ति सुने पनि मन अघाउँदैन । अनायासै प्रकट भइरहेको प्राकृतिक सौन्दर्यले मानवमनको भावलहरीलाई समुद्रको उत्ताल छाल झैँ तरंगित तुल्याउँछ । यहाँ जीवनको सार भेटिन्छ, गुह्य ज्ञान झुल्किन्छ, त्यसलाई ग्रहण गर्नसक्ने दिव्य चक्षुु मात्र हुनुुपर्छ, यहीँ नै सृष्टिको रहस्य दृष्टिगोचर हुन्छ । अनि कत्ति नाफा नखाई भन्न मल लाग्छ– यो मेरो देश अनि मेरो प्यारो सुन्दरीजल !

बाटोमा दुवैतिर छचल्काइरहेको छहरालाई छातीभरि राखेर शिवको मन्दिरलाई दाहिने घुमेर पुनः उकालो लाग्दा करिब १५ मिनेटको हिँडाइपछि शिवपुरी निकुञ्ज देखा पर्दछ । पहिला पहिला त्यहाँ घोडा पालिएका हुन्थे । त्यहाँ केही दम्किलो परेको ठाउँमा १० मिनेटजति थकाइ मारेपछि काठमाडौँ उपत्यकालाई राम्रोसँग नियालेर पुनः सुन्दरीजल तर्फ नै लाग्न सकिन्छ । थकाइ मार्नु इच्छाको कुरो ।
बाटामा ठूल्ठला पाइप देख्न सकिन्छ । यिनैबाट काठमाडौका बासिन्दा काकाकुल प्यास शान्त हुन्छ ।

शिवपुरी राष्ट्रिय निकुञ्जबाट १५,२० मिनेटपछि सुन्दरीमाईको मन्दिर पुग्न सकिन्छ । अत्यन्तै आकर्षक क्षेत्र हो यो । यहाँ बागमती र श्यालमतीको पानी मिसिएको छ । सुन्दर ढुङ्गाबाट पानी कहिले लुक्दै त कहिले देखिदै बगेको छ । सुन्दरीमाईको आशीर्वाद लिएपछि पुनः त्यही बाटो हुदै विद्युत उत्पादनका लागि पानी जम्मा गरी बनाइएको दहसम्म पुगिन्छ । यो पनि उत्तिकै राम्रो छ । वरिपरि जङ्गल बीचमा पोखरी अनि चराचुरुङ्गीको आवाज, आहा ! शायद स्वर्ग यही नै होला ।

सुन्दरीजलकोे विद्युत गृह नेपालको दोस्रो जलविद्युत आयोजना हो । बेलायत सरकारको सहयोगमा सन् १९३४ मा निर्माण सम्पन्न भएदेखि नै यसले नियमित विद्युत उत्पादन गर्दै आएको छ । यहाँबाट वार्षिक ४ दशमलव ७७ गिगावाट घन्टा विद्युत उत्पादन हुने गरेको छ । यहाँ पानीको बहुउपयोग गरिएको छ । विद्युत उत्पादनपछिको पानी पाइपमार्फत काठमाडौँवासीको घरघरमा पुुग्दछ ।

सुन्दरीजल आफैमा विविधताले भरिएको ठाउँ पनि हो । यहाँ मठ मन्दिरका अतिरिक्त घना जङ्गल पनि छ । यहाँ खोटे सल्लो, चिलाउने, उत्तिस, काफल, लालीगुराँस आदिको बोट प्रशस्तै पाइन्छन् । विभिन्न जातजातिका फलफूलका बोट पनि उत्तिकै देखिन्छन् । यहाँ १ हजार २ सय ५० भन्दा बढी प्रकारका वनस्पति पाइन्छन् । यसका अतिरिक्त विभिन्न प्रकारका जडिबुटी पनि पाइन्छ । यहाँ ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक, मृग बँदेलजस्ता अनेकौ जनावर पाइन्छन् । यहाँ २ सय ५० भन्दा बढी प्रकारका चराचुरुङ्गी पनि पाइन्छन् । यहाँ १ सय ७७ भन्दा बढी प्रकारका चराचुरुङ्गी बसाइ सरेर यता उता आउनेजाने गर्दछन् । २०५८ मा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि यो स्थान संरक्षित छ, यहाँका बोटबिरुवा तथा पशुपन्छीको संख्या फस्टाउँदै पनि छन् ।

हाल सुन्दरीजल जानका लागि मोटर बाटो पनि बनाइएको छ भने मेलम्ची खानेपानीको आयोजनास्थल पनि त्यहीँ हो । चैत्रवैशाखमा महिनामा सुन्दरीजलका बनमा फुल्ने लालीगुराँस लगायतका फूल अनि काफल तथा ऐँसेलुजस्ता फलले हरेक यात्रुको मन लोभ्याउँछ ।

सुन्दरीजल क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई दृष्टिगत गरी थुप्रै होटल खुलेका छन् । बास बस्न चाहने पर्यटकका लागि राम्रो व्यवस्था छ । सहरको कोलाहल र प्रदूूषणबाट केही क्षणका लागि भए पनि मुक्ति पाउन र आनन्दको सास फेर्न सुन्दरीजल नजिकको गन्तव्य हो । काठमाडौँ शहरबाट नजिकै रहेको सुन्दरीजलको सौन्दर्यपान गरी जीवनलाई धन्य बनाउन सकिन्छ ।