प्रतिनिधिसभाकाे उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

प्रतिनिधिसभाकाे उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित


प्रतिनिधि सभा उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर निर्वाचित भएकी छन् । 

प्रतिनिधिसभाको आज बसेको बैठकमा भएको निर्वाचनमा नेपाली काँग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै सांसद रानामगर विजयी भएकी हुन् । रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वार्चित गरियोस् भनी प्रस्तावको पक्षमा १६६ मत खसेको छ। साथै विपक्षमा ९७ मत परेको थियो भने तटस्थमा १ मत परेको थियो ।  प्रतिनिधिसभाका २७५ सांसदमध्ये आजको बैठकमा २६४ जना सहभागी भएका थिए ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा बहाल रहेका सांसदहरुको बहुमत प्राप्त गरेकाले रानामगर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएको घोषणासमेत गरेका छन् । रानामगरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत देखिएकाले अर्को प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिएन ।

रानामगरको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो ।उनको प्रश्तावकमा सोविता गौतम र समर्थकमा कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङदेन रहेका थिए भने यादवको प्रश्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्ला रहेका थिए । 

गत माघ ५ गते सत्तारुढ दलहरुकै समर्थनमा एमाले सांसद घिमिरे सभामुखमा निर्वाचित भैसकेका छन् । 

सत्तारुढ दलहरुबीच अब राष्ट्रपति एमालेलाई र उपराष्ट्रपति पद माओवादी केन्द्रलाई दिने सहमति पनि यस अघि नै भईसकेको छ । यता, विपक्षमा रहेको काँग्रेसले पनि राष्ट्रपति पदमा आफू दावी कायमै राखेको छ । सत्तारुढ माओवादी केन्द्रको समर्थनमा आफ्नो पार्टीले राष्ट्रपति पाउने आशमा काँग्रेस रहेको बताइएको छ । 

प्रतिनिधिसभाकाे अर्काे बैठक १० माघ मंगलबार दिउँसाे १ बजे बस्नेछ । 

Logo