नोभेम्बर महिनामा जन्मनेहरू दयालु हुन्छन्

तपाईंको जन्म कुनै पनि सालको नोभेम्बर महिनामा भएको हो भने ज्योतिषशास्त्रले भन्छ कि तपाईं यो संसारमा सबैको भलो गर्नका लागि जन्मनुभएको हो । तपाईं अत्यन्त दयालु एवं परोपकारी हुनुहुन्छ । सहनशक्तिका हिसाबले पनि तपाईं अतुलनीय हुनुहुन्छ । जबसम्म तपाईंको स्वाभिमानमा चोट पुग्दैन त्यति बेलासम्म तपाई अरूका सानातिना होचिअर्घेलीलाई सहजै पचाइदिनुहुन्छ ।

तपाईं सबैका बीच तालमेल मिलाउने वा सामञ्जस्य कायम राख्ने काम कुशलतापूर्वक निर्वाह गर्नुहुन्छ । सामान्यतया साथीहरूका बीच प्याचअप गराउने कामको जिम्मा तपाईंमाथि नै रहने गर्छ । उसो त संसारले तपाईंको शान्त र सौम्य रूप मात्रै देखेको छ, थाहा पाएको छ, तथापि जसले तपाईंको क्रोध देखेको छ त्यसैले मात्र थाहा पाउँछ कि तपाईंभित्र कति तुफान भरिएको छ, कति विद्रोहको ज्वाला दबेर बसेको छ । यसैको परिणामस्वरूप तपाईं कम उमेरमै उच्च रक्तचापजस्ता समस्याको सिकार बन्नसक्ने प्रबल सम्भावना रहन्छ ।

तपाई साथीभाइका लागि केही गर्नुहोस् वा नगर्नुहोस् उनीहरू भने सदैव तपाईंका लागि ज्यान दिनसमेत तयार रहन्छन् किनभने उनीहरू तपाईंको सोझोपनबाट औधी प्रभावित हुन्छन् । तपाईंको प्रगति देखेर जल्नेहरू सावधान रहे हुन्छ किनभने नोभेम्बर महिनामा जन्मनेहरूलाई दुस्मनले कहिल्यै परास्त गर्न सक्दैनन् ।

यो महिनामा जन्मने युवाहरूभित्र प्रेमको अथाह सागर हुन्छ । जोसँग प्रेम गर्छन् तिनलाई प्राप्त गर्न नसके पनि जीवनभर भुल्न सक्दैनन् । र यदि प्रेमी, प्रेमिका प्राप्त भए भने तिनको खुसीका लागि आफैंलाई रित्याएर दिन्छन् र यति गरेर दिँदा पनि अझै आफूले दिन नसकेको ठान्ने गर्छन्, अझै दिन सके हुन्थ्यो भनेर विचार गरिरहन्छन् । प्रेय पात्रका लागि सर्वस्व लुटाउन पनि तयार रहन्छन् ।

केही युवा जो नोभेम्बर महिनामा जन्मिएका छन् र जसको राशि वृश्चिक वा मेष छ तिनमाथि कन्जुस भएको आरोप लाग्ने गर्छ अन्यथा सामान्यतः नोभेम्बरमा जन्मेका युवा मनका यति उदार हुन्छन् कि आफ्ना अगाडिका मानिसको अनुहारमा मुस्कान देख्नका लागि आफ्नो खल्ती रित्याएर पनि खुसी रहन्छन्, लेसमात्र पनि खिन्न हुँदैनन् ।

नोभेम्बर महिनामा जन्मनेहरू आफूसँग जति पैसा आओस् त्यसैमा बचतको तरिका खोजिहाल्छन् । पूरै खाली यी कहिल्यै पनि हुँदैनन् । यिनीहरूको पर्स वा कुनै न कुनै खल्तीबाट पैसा निस्किहाल्छ । व्यग्रतामा थोरै मात्र कन्ट्रोल गर्नसक्ने हो भने यिनीहरूजस्तो सुव्यवस्थित तरिकाले रहनसक्ने मानिस पाउनु मुस्किल नै छ । हरेक काम व्यवस्थित, पारदर्शी एवं सरसफाइयुक्त । यिनीहरूको बाल्यकालदेखि आजसम्मका ससाना डकुमेन्ट पनि कुनै फाइलमा सुरक्षित राखिएको पाउन सकिन्छ । यो मामिलामा यिनलाई केही सन्की पनि मान्न सकिएला । अलिकति कन्फ्युज्ड अनि अलिकति क्रिएटिभ ।

नोभेम्बर महिनामा जन्मनेहरूलाई अतीतसँग गहिरो लगाव हुन्छ । आफ्ना हरेक पहिलो कुरा वा पहिलो चिज आफ्नो स्मृतिमा सँगालेर राख्छन् । सामान्यतया यो महिनामा जन्मने व्यक्ति लेखक, पुलिस, पत्रकार, कलाकार, सर्जन वा गुप्तचर विभागमा हुन्छन् । यिनीहरूको मन बच्चाको जस्तो हुन्छ यसकारण बालबच्चासँग यिनीहरूको असीम स्नेह हुन्छ ।

यिनीहरूको इन्ट्युसन पावर बेजोड हुन्छ । कुनै कुराको पूर्वाभास हुनु वा अनुहार हेरेर मानिसको चरित्र वा स्वभाव थाहा पाउनु यिनीहरूका लागि सहज हुन्छ । आकर्षक मुखाकृति एवं सोझोपनका कारण जागिर होस् वा घर, प्रेम होस् वा दोस्ती यिनीहरू सय फट्याइँ माफ गरिदिइन्छ । यो महिनामा जन्मनेले आफ्नो कपालको विहेष हेरचाह गर्नु आवश्यक छ, अन्यथा असमयमै तालुखुइले हुने सम्भावना रहन्छ । बढी गफ लाउने प्रवृत्तिबाट जोगिने हो भने यिनलाई सही समयमा सही जीवनसाथी प्राप्त हुन्छ ।

नोभेम्बर महिनामा जन्मिएका युवतीहरू भावुक देखिन्छन् तर व्यावहारिक हुन्छन् । जस्तोसुकै चोट खाँदा पनि आफूलाई सम्हाल्न समर्थ हुन्छन् ।

यही कारण नोभेम्बर महिनामा जन्मने युवती आफ्नो दुःख हटाउनका लागि कहिल्यै अरूको सहारा खोजी गर्दैनन् । अतुलनीय सहनशक्तिका कारण जीवनका हरेक युद्ध जित्न सक्षम हुन्छन् । अभिव्यक्ति क्षमता केही कमजोर हुन्छ यसकारण आशा राख्छन् आफ्ना वरपरका मानिसहरूले मनको कुरा बुझिदिऊन् । मानिसले जब यिनको मनको कुरा बुझ्दैनन् तब यिनी मुर्मुरिन्छिन् ।

नोभेम्बर महिनामा जन्मनेहरूलाई सल्लाह यो छ कि आफ्नो कम्युनिकेसन स्किल सुधार्नुहोस् किनभने यसैका कारण सामान्यतया मानिसहरूले तपाईंलाई गलत रूपमा बुझ्छन् ।

आफ्नो सौम्य स्वरूपको गलत फाइदा नउठाउनुहोस् बरु सच्चाइ र इमान्दारी तपाईंको तागत हो त्यसको प्रयोग गर्नुहोस् । कल्पना लोकबाट बाहिर आउनुहोस्, जीवनका थुप्रै रंग तपाईंकै पर्खाइमा मुस्कुराइबसेका छन्, तपाईंले तिनलाई समयमै पहिचान गर्नु आवश्यक छ ।

भाग्यशाली अंक : ३, १, ७

भाग्यशाली रंग : गुलाबी, सेतो र चकलेटी

भाग्यशाली दिन : मंगलबार र विहिबार

भाग्यशाली रत्न : मोती र मुनस्टोन

ज्योतिषीय सल्लाह : एउटा काँसको कचौरामा तेल राखेर त्यसमा आफ्नो अनुहार हेरी मन्दिरमा गएर त्यसलाई दान गर्दा हरेक वाधा हट्छन् ।