प्रधानमन्त्रीको स्वास्थ्य: पायल्सदेखि मृगौला प्रत्यारोपणपछिको डायलासिससम्म (भिडियो रिपोर्ट)
  • रामजी बलामी-

गत कात्तिक १३ गते प्रधानमन्त्री केपी शर्मा ओली एक्कासी ग्राण्डी अस्पतालको आइसीयूमा भर्ना भए । त्यसको भोलिपल्ट कात्तिक १४ गते हँसिलो मुहारका साथ अस्पतालबाट डिस्चार्ज भए  । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गाैलाले राम्ररी काम नगरेपछि गत बुधबार र बिहिबार २ पटक डायलासिस गरियो ।

प्रधानमन्त्री ओली गत भदौमा सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गरेर फर्केका थिए । प्रधानमन्त्री ओलीले भारतको एपोलो अस्पतालका साथै थाइल्याण्डको वुङरुगाड अस्पताल र सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराउँदै आएका छन् । यतिखेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे सर्वत्र चियोचर्चा हुन थालेका छन् ।

तर, प्रधानमन्त्री ओलीले भने स्वास्थ्यमा समस्या देखिएपनि आफू सिकिस्त नभएको भन्दै ब्रिफिङ गर्दै आएका छन् । गत साउन ३१ गते पनि ओलीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका झापाका जनप्रतिनिधिहरूसँग उनले हस्यौली शैलीमा भनेका थिए, “म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको होला, म १५ वर्षअघि बिरामी थिएँ अहिले होइन, मैले सिंगापुरमा आँखा, कानदेखि कान्छी औंलाको नङसमेत परीक्षण गरेर आएको छु । डाक्टरले अब २०–२५ वर्ष केही हुँदैन भनेका छन् ।”

प्रधानमन्त्रीको लाइफ प्वाइन्ट : २०६४ असार

प्रधानमन्त्री ओलीको जीवनको एउटा अभिन्न प्वाइन्ट वि.सं. २०६४ असारमा कनेक्सन भएको हो । प्रधानमन्त्री त्यसको केही समयअघिदेखि नै बिरामी थिए । स्वास्थ्य जाँचपछि उनको दुबै मृगौलाले काम नगरेको पुष्टि भयो । ओलीसँग दुईवटा विकल्प थिए, नियमित डाइलोसिस र प्रत्यारोपण । डाइलोसिसले सामान्य जीवन जिउन मात्र सम्भव हुन्थ्यो तर सक्रिय राजनीति सम्भव थिएन । चिकित्सकहरूले पनि ओलीलाई मिर्गौला प्रत्यारोपण गर्न सुझाए तर नेपालमा मिर्गौला प्रत्यारोपणको सुरुवात भएको थिएन । त्यसपछि शुरु भयो मिर्गौलाको खोजी ।

प्रधानमन्त्रीको ‘पार्ट अफ हेल्थ’: अन्जना घिमिरे

मिर्गौला खोज्ने क्रममा अन्जना घिमिरेले आफ्नो मिर्गौला दिन राजी भइन् । २१ वर्षिय अन्जना नाताले ओलीका भाइबुहारी हुन् । अन्जनाले यस्तो इच्छा देखाएपछि ओली आफै छक्क परेका थिए । शुरुमा त ओलीले अन्जनाको मिर्गौला नलिने सोच समेत बनाएका थिए । तर, परिवार बाहेककाले मिर्गौला दिन कानूनी झन्झट हुने भएकाले पनि ओलीका लागि अरु उपाय भएन । त्यसपछि ओलीले अन्जनालाई आफ्नो अभिभावकसँग सल्लाह गर्न भने । तत्कालिन नेकपा एमालेबाट चितवनमा सक्रिय राजनीति गरिरहेका अन्जनाका बुबा ध्रुव घिमिरे र आमा प्रशान्तले स्वीकृति दिए ।

लगतै राष्ट्रिय मिर्गौला केन्द्रमा स्वास्थ्य जाँच गर्दा मिर्गौला प्रत्यारोपण गर्न मिल्ने देखियो । प्रधानमन्त्री ओलीको रगत ‘ओ नेगेटिभ’ हो भने अन्जनाको रगत समूह ‘ओ पोजिटिभ’ हो । त्यसपछि १५ महिनाको बच्चालाई आमाको जिम्मा लगाएर उनी श्रीमान् तारा ओली, प्रधानमन्त्री ओली, उनका धर्मपत्नी राधिकासँगै दिल्ली पुगिन् । प्रारम्भिक स्वास्थ्य जाँचपछि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उनको मिर्गौला ओलीको शरिरमा प्रत्यारोपण गरियो । अर्थात प्रधानमन्त्री ओलीको ‘अ पार्ट अफ हेल्थ’ बनिन् अन्जना ।

त्यसैले त ओलीले पटक पटक अन्जनाले ठूलो गुण लगाएको अभिव्यक्ति दिँदै आएका छन् । प्रधानमन्त्री ओलीले अन्जनाकी छोरा अर्पणलाई आफ्नो छोरा मान्दै आएका छन् । “मैले जेठाजु भनेर दिएकी होइन, देशकै लागि काम लाग्ने मान्छे सम्झेर आफ्नो मिर्गौला दिएकी हुँ ।” अन्जनाले हेल्थ टुडे मासिक पत्रिकासँग दिएको अन्तर्वार्तामा भनेकी छिन् ।

मिर्गौला दिएको चार वर्षपछि छोरीलाई जन्म दिएकी उनले भनेकी छन्, “मिर्गौला दिएर केही फरक नपर्ने रहेछ, मृगौला एउटा हुनु र दुइटा हुनुमा केही फरक देखिन”

थप सामाग्री प्रस्तुत भिडियोमा