सातवटै प्रदेशका प्रमुख पदमुक्त
file photo

सातै प्रदेश प्रमुख पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजबाट उनीहरूलाई पदमुक्त गरेकी हुन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पदमुक्त हुनेमा प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल  छन् ।

प्रदेश प्रमुखहरूको नियुक्ति तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले आफ्नो पार्टी आमनिर्वाचनमा पराजित भइसकेपछि २०७४ माघ ३ गते गरेको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएलगत्तै प्रदेश प्रमुख हटाउने धेरैको अनुमान थियो। तर सरकारलाई तत्काल प्रदेश प्रमुख हटाउन संवैधानिक व्यवस्थाले रोकेको थियो ।

संविधानअनुसार प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले सपथ खुवाउनु पर्छ । तत्काल प्रदेश प्रमुख हटाए प्रदेश सभा गठनमा व्यवधान हुने समस्या त थियो नै, तिनै प्रदेश सभा सदस्यले समेत भोट हालेर गठन हुने राष्ट्रिय सभा निर्वाचनसमेत हुन नसक्ने अवस्था थियो।

राष्ट्रपति कार्यालयको विज्ञप्ति :