कैलाली दुर्घटना : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
File Photo

कैलाली,
कैलालीको पहलमानपुरमा बसको ठक्करबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । आइतबार साँझ महेन्द्रनगरबाट नेपालगञ्जका लागि छुटेको भे १ ख १७३२ नंको यात्रुवाहक बसले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३ प ६३७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप एकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताउनुभयो ।

बसले मोटरसाइकललाई ठक्कर दिँदा घोडाघोडी–१० पहलमानपुरका रामबहादुर चौधरीको घटनास्थलमै र सोही ठाउँका मानबहादुर चौधरीको प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि विरोधमा आफन्तले शव नउठाइ राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्गमा टायर बालेर घटनाको विरोध गर्दै राजमार्ग अवरुद्ध छ ।

राजमार्गमा भएको शव नउठाउँदा राजमार्ग अवरुद्ध भई छोटो तथा लामो दूरीका कुनै पनि सवारी साधन नचलेपछि यात्रु अलपत्र परेका छन् । बस चालक बाँकेका ३२ वर्षीय डिल्लीबहादुर योगीलाई इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक हरिशरण भट्टले बताउनुभयो ।