आन्तरिक उडानको लागि निगमले थप विमान खरिद गर्न आवश्यकः निर्देशक अधिकारी

आन्तरिक उडानको लागि निगमले थप विमान खरिद गर्न आवश्यकः निर्देशक अधिकारी


नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीले आन्तरिक उडानको लागि थप विमान किन्नुपर्ने बताएका छन् । 

सोमवार नयाँ पर्यटनमन्त्री सुदन किराँतीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले निगमलाई सबैभन्दा पहिला आन्तरिक रुपमा बलियो बनाउनको लागि आन्तरिक उडानको लागि विमानहरु थप्न आवश्यक रहेको बताएका हुन् । उनले वायुसेवा निगमलाई सक्षम र सुदृढ बनाउने गरी कार्ययोजना बनाइरहेको बताए । 

उनले निगमले सेवा बिस्तार गर्दा नाफा नोक्शानको भन्दा पनि राष्ट्रिय दायित्व पूरा गर्नुपर्ने बताए । 

निर्देशक अधिकारीले निगमको हवाई क्षेत्रमा हुने उपस्थितिले बजार व्यवस्थापनलाई नियन्त्रण गर्ने बताए । उनले निगमको आर्थिक अवस्थाले ३ वटासम्म विमान किन्नसक्ने भएकाले निगम आन्तरिक उडानको लागि जहाज थप्ने तयारीमा रहेको भन्दै सञ्चालक समिति र मन्त्रालयको निर्देशन हुनासाथ अगाडि बढ्न निगम तयार रहेको बताए । उनले निगमको प्राथमिकता यात्रुको सेवामा गुणस्तरियता बढाउने र निगमको सुधारमा तिब्रता ल्याउनु रहेको बताए । राज्यले राष्ट्रिय ध्वजावाहकलाई संरक्षण गर्न आवश्यक रहेको उनले बताए । 
 
निर्देशक अधिकारीले निगमको वित्तीय पुनःसंरचना नगरिएसम्म निगममा आमुल परिवर्तन हुनसक्ने अवस्था नभएको बताए ।

Logo