राष्ट्रियसभा बैठकको शुन्य समयमा के-के भने सांसदहरुले ?

राष्ट्रियसभा बैठकको शुन्य समयमा के-के भने सांसदहरुले ?


राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । 

मंगलबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले बजारमा गुणस्तरहिन औषधिको उत्पादन र बिक्री वितरण भइरहेको बताइन् । उनले यस्तो गतिविधिले नागरिकको स्वास्थ्यमा असर पर्ने भन्दै सम्बन्धित निकायले औषधिको चेकजाँच गर्नुपर्ने बताइन् । 

गुणस्तरहिन औषधिलाई विक्री वितरण रोक्नुपर्ने उनको भनाई छ ।  

त्यस्तै, राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासेले महिला र बालबालिकाहरुमाथि नराम्रो व्यवहारका घटनाहरु घटिराखेको भन्दै उनीहरुमा सुरक्षा जोखिम बढेको बताइन् । उनले महिला र बालबालिकाको शान्ति सुरक्षामा ध्यान दिन सरकारसँग माग गरिन् । 
 
राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले बञ्चरेडाँडाँमा फोहोर व्यवस्थापनको समस्या बल्झिन नदिन सरकारको ध्यानाकर्षण गराइन् । साथै राष्ट्रिय सभा सदस्य भवगती न्यौपानेले सरकारी अस्पतालको स्तरन्नोती गर्न सरकारको ध्यानाकर्षण गराइन् ।उनले आम नागरिकले सरकारी अस्पतालमा बेड पाउन समेत नसक्ने भन्दै यसलाई सहज गराउनुपर्ने बताइन् । 

राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रिय सभामा प्रश्तुत भएका विधेयकहरु निस्क्रिय हुने गरेको भन्दै असन्तुष्टि जनाइन् । उनले राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ मन्त्रीहरुले नदिने गरेको भन्दै यसको जवाफ दिन मन्त्रीहरुलाई आग्रह गरिन् । 
 
राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले देशभर शितलहर चलेका कारण जनजीवन प्रभावित भएको भन्दै गरिब, निमुखा र जेष्ठ नागरिकलाई न्यानो कपडा राहतको रुपमा दिन सरकारसँग माग गरिन् । राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले घुस रकमसहित पक्राउ परेका त्रिभुवन विमानस्थलका कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिन् । 
 
राष्ट्रिय सभाको मंगलवारको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल भइरहेको छ ।

Logo