तीन सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्छः गभर्नर अधिकारी

तीन सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्छः गभर्नर अधिकारी


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्ने आशय व्यक्त गरेका छन् । 

मंगलवार राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीनवटा वाणिज्य बैंकहरु पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने बताएका हुन् । उनले पछिल्लो समय निजी क्षेत्रका वाणिज्य बैंकहरुको मर्जरले सरकारी बैंक सानो हुन नखोज्दा खोज्दै पनि सानो बन्नुपर्ने अवस्था आएको भन्दै सरकारी बैंकहरुले पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताए । 

उनले सरकारले अहिले निजी क्षेत्रका बैंकको मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था नगरेको बताए । 

गभर्नर अधिकारीले निजी क्षेत्रका बैंकहरुले अहिलेको व्यवसायिक आवश्यकता बुझेर मर्जर गरिरहेको बताए । उनले सरकारी बैंकहरु अहिलेको व्यवसायिक आवश्यकता बुझ्न पछाडि भएको शंका राष्ट्र बैंकलाई लागेको बताए । आवश्यकतालाई सरकारी बैंकहरुले महशुस गरेर नेपाल सरकार र तीन वटा सरकारी बैंकहरुबीच छलफल गरेर वास्तविक आवश्यकता हो भने मर्जरका लागि अगाडि बढ्नु उपयुक्त हुने उनले बताए । 
 
गभर्नर अधिकारीले बैंकिङ व्यवसाय चुनौतिपूर्ण व्यवसाय भएको बताए । उनले एउटा बैंकको ६ अर्बको कर्जा ६ महिना उठ्न नसके ३ अर्बको पुँजी व्यवस्था गर्नुपर्ने अवस्था आउने बताए । राष्ट्र बैंक मुलुकभर बैंकिङ सेवा बिस्तार गर्न लागिरहेको उनले बताए ।

Logo