राष्ट्रिय सभा उपनिर्वाचनको प्रक्रिया सुरु, आज उम्मेदवार मनोनयन दर्ता

राष्ट्रिय सभा उपनिर्वाचनको प्रक्रिया सुरु, आज उम्मेदवार मनोनयन दर्ता


राष्ट्रिय सभा उपनिर्वाचनका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू हुने भएको छ ।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो । माघ २५ गते हुने निर्वाचनका लागि आज उम्मेदारी दर्ता गर्ने कार्यतालिका रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय दिइएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार जिल्ला अदालतको पुरानो भवन परिसरमा उम्मेदवारी दर्ता हुने र दिउँसो ३ देखि ४ बजेसम्म मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमाले र नेपाली कांग्रेसबाट उम्मेदारी दर्ता गर्ने तयारी  छ । राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते मतदान घोराहीस्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान हुने भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङकाअनुसार उपनिर्वाचनका लागि माघको १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र माघको १४ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी, माघको १५ गते उम्मेदवारले नामावली फिर्ता लिने, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुँवरले जानकारी दिए। प्रदेशका १ सय ९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २र२ तथा राप्रपा र जनता प्रगतिशीलले १र१ स्थानमा जितेका छन् ।

यसैगरी, ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा, नागरिक उन्मुक्तिले ४–४, जसपा, लोसपा, जनमतले ३र३, जनमोर्चा र नेकपा एसले १र१ र स्वतन्त्रबाट २ जनाले जितेका छन् ।  राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

Logo