पूर्व कप्तान पारसले लेजेन्ड्स लिग खेल्ने

पूर्व कप्तान पारसले लेजेन्ड्स लिग खेल्ने


नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् ।

पारसले एसियन लायन्सबाट लेजेन्ड्स लिग खेल्ने छन् । एसियन लायन्सले सामाजिक संजालबाट पारसलाई अनुबन्ध गरिएको जनाएको छ । लायन्सले पारससँगै थिसारा परेरा, मोहम्मद हाफिज र शोयब अख्तरलाई टोलीमा अनुबन्ध गरिएको समेत जनाएको छ । टोलीले यस अघि उपुल थरंगा तथा अस्गर अफगानलाई टोलीमा अनुबन्ध गरिसकेको छ । प्रतियोगिता फेब्रुअरी २७ देखि मार्च ८ सम्म कतार र ओमानमा हुनेछन् । यसअघिका दुई संस्करण सफल रुपमा सम्पन्न भई सकेका छन् ।

यस प्रतियोगिता भारतीय पूर्व कप्तान सचिन तेन्दुलकर देखि वेस्टइन्डिजका ब्रायन लारासम्मका महान् क्रिकेटरले खेल्दै आएका छन् । विश्वका पूर्व सबै स्टार क्रिकेटरले खेल्दै आएका छन् । भारतीय खेलाडी भने इन्डियन महाराजर्सबाट खेल्ने छन् । वल्र्ड जायन्ट्सबाट ओईन मोर्गन, शेन वाट्सन लगायतका खेलाडी छन् ।

गतवर्ष पनि पारसले लेजेन्ड्स क्रिकेट खेल्ने भनिएको थियो । तर अन्तिम समयमा भने खेलेका थिएनन् । खेलाडी ड्राफ्टबाट लिएपछि पारसले खेलेका थिएनन् । पारस खड्काले दुई वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । पारसको कप्तानीमा नेपालले सन् २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको थियो । पारसले २०१९ मा युएईविरुद्ध तेस्रो ओडिआईमा १ सय १५ रनको ऐतिहासिक शतक प्रहार गरेका थिए । पारसले २०१९ मा सिंगापुरविरुद्ध टि२० आई खेलमा नेपालको पहिलो शतक प्रहार गर्दै कीर्तिमान रचेका थिए ।

पारसले नेपालका लागि १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टि२० खेलेका छन् । पारसले अन्तिम पटक २०२१ मार्चमा बागमती प्रदेशबाट काठमाडौं मेयर्स कपमा त्रिभुवन आर्मी क्लबविरुद्ध १ सय १९ रनको शतकीय इनिङ खेलेका थिए । त्यसपछि पारस पहिलो पटक मैदान उत्रनेछन् ।

 

Logo