यस कारण गरे प्रेम आचार्यले आत्मदाह…

यस कारण गरे प्रेम आचार्यले आत्मदाह…


यतिखेर सामाजिक सञ्जालका भित्ताहरु प्रेमप्रसाद आचार्यको जल्दै गरेको शरीरको भिडियो र तस्विरमा समबेदनाका शब्दले भरिएका छन् । आफ्नै शरीरमा आगो सल्काउनुअघि प्रेमप्रसादले लेखेको लामो स्टाटस यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । मंगलबार संसद् भवनको गेटअघि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले बुधबार बिहानै भौतिक शरीर त्यागे । उनको मृत्यु लगत्तै विभिन्न टीका टिप्पणी प्रतिक्रिया आउन सुरु भएका छन् । प्रेमको आत्माको शान्तिको लागि श्रद्धाञ्जली व्यक्त गरिएका छन् । कतिले लेखिरहेका छन्, ‘तिमीले हिम्मत गर्नुपथ्र्यो । बाँचेर देखाउनु पथ्र्यो । सहयोग गर्ने हामी थियौँ । हामीलाई भन्नुपथ्र्यो ।’ 

आत्मदाह गर्नुअघि प्रेमप्रसादले थुप्रै मानिसहरुसँग सहयोग मागेका वृत्तान्त पेस गरेका छन् । कुनै मान्छे आत्महत्याको चरणमा एकैचोटी पुग्दैन । यसका पछाडि लामो समयसम्म चलेको हतासा, असफलता, निरीहताले भूमिका निर्वाह गरेको हुन्छ । एक आम युवा, उद्यमी, ब्यवसायी, प्रेम प्रसाद आचार्य को थिए त ? हेरौं उनले आत्मदाह गर्नुका कारण समेटिएको उनकै फेसबुक सुसाइड नोट–

प्रेम प्रसाद आचार्यको जन्म बिं सं २०४३ भाद्र १ गते इलाममा भएको थियो । उनी आफ्नो र सन्तानको भविष्य निर्माणका निम्ति स–परिवार काठमाडौं आएका थिए । दुई छोरीका पिता प्रेमप्रसादले पैतृक सम्पत्ती बेची बुढानीलकण्ठमा घर बनाएका थिए । काठमाडौंको महंगाई र परिवारको भार ठेग्नका लागि प्रेमप्रसादले ठमेलमा ट्राभल एजेन्सी खोले । सुरुका केही दिन राम्रो चलेको ट्राभल एजेन्सी विस्तारै उधारोका कारण ऋणमा डुबेको थियो । ऋणको पैसा र आफ्नो परिवारको दैनिकी चलाउन प्रेमप्रसाद ३ वर्ष खाडी मुलुक कतारमा अफिस असिस्टेन्टका रुपमा कार्य गर्न हानिए । तीन वर्षे अवधिमा प्रेमले राम्रो कार्य गर्दै अफिस असिस्टेन्टबाट पद्दोन्नती भई सेल्स एण्ड मार्केटिङ म्यानेजरसम्म भएका थिए । प्रेमले पद्दोन्नति भएसँगै राम्रो आम्दानी गरेका कारण तीन वर्षमै लागेका सम्पूर्ण ऋण तिरेर केही पैसा साथमा लिई नेपाल फर्किए । 

जन्मथलोमा केही गर्ने इच्छा लिएर इलाम फर्केका उनले सुर्योदय एग्रो इन्डस्ट्री एण्ड फाम हाउस स्थापना गरे । उनले इलामै रहेर इलाम घ्यु, इलाम गुन्द्रुक, इलाम अकबरे अचार, तामाको अचार आदि प्याकिङ गरी बेच्न थाले । आफूले कारोबार गर्दा नगद गर्नुपर्ने तर उधारोमा सामान दिनुपर्ने भएकाले समयमा पैसा नउठेपछि प्रेम ऋणमा डुब्न थाले । 

ऋण बढ्दै जाँदा घर खर्च चलाउनै गारो भयो । दुई छोरीको लालनपालन र शिक्षा दीक्षाको चुनौती पनि बढ्न थाल्यो । आर्थिक रुपमा असफल भएपछि उनले–‘सयौं पटक आत्महत्या गर्ने प्रयास गरे तर सकेनन् । आफैले चलाएको गाडी दुर्घटना गराउने प्रयास गरे तर सकेनन् । साहुको निरन्तरको फोन कलले उनी दुई वर्ष डिप्रेसनको सिकार पनि भए । रिटेलिङ ब्यापारबाट केही हात नलागेपछि डिलरसिप लिएर पनि उनले ब्यापार थाले । त्यसमा पनि उनी असफल भए । 

उनले आफ्नो उत्पादन काठमाडौंका नाम चलेका ब्यापारिक केन्द्र तथा पसलहरुमा पठाउन थाले । महिनाकै लाखौंको सामान मगाउने तर पैसा भने धेरै महिना झुलाई राख्ने प्रवृत्तिले पनि प्रेमप्रसाद आजित भए । पैसा लिनकै लागि प्रेम काठमाडौंमा हप्तौं भौतारिन्थे । लाखौंको ऋण तर पैसा उठाउने बेला हात रितो । आफूले तिर्नुपर्नेको फोन, म्यासेज, धम्की भने सधै खेपिरहनु पर्ने पिरलोमा उनी परे । उनले यथासम्भव तिर्ने काम गरिरहे । 

व्यवसायकै क्रममा प्रेमले ठूला घराना भनाउँदा सबैलाई भेटेर आफ्नो समस्या सुनाएको तर कसैबाट राहत नपाएको गुनासो गरेका छन् । केहीवर्ष सक्रिए राजनीतिमा पनि लागे तर विगतको असफलतालाई नियालेर राजनीतिबाट पनि अलग्गिए । जीन्दगीबाट हार खाइसकेका प्रेमले मन सम्हाल्न नसकेर, आर्थिक भार थाम्न नसकेर, यही वर्षको तिहारअघि सुसाइड नोट लेखी भारतको गुहाटी ब्रम्हपुत्र नदीमा फाल हानेर मर्ने जमर्को गरे तर प्रेम त्यसबाट पछि हटे । सबैकुराबाट आजित प्रेमले पुनः विदेश नै जाने जमर्को गरे तर म्यानपावरले माग गरेअनुसार पैसा दिन नसकेपछि प्रेमले काठमाडौंमै बसेर गाडी भाडामा दिने कम्पनीमा केही समय काम गरे । 

जसोतसो प्रेमले आफ्नो ज्यान पाल्ने मेलो त बनाए तर परिवारलाई सहज ढंगले भरणपोषण गर्न सकेनन् । ६० लाख ऋणका कारण प्रेमकी श्रीमतीलाई जतिबेला पनि साहुहरुले दुःख दिन थाले । उनीहरुको यातना सहन नसकेर प्रेमकी श्रीमतीले पनि आत्महत्याको प्रयास गर्न थालिन । प्रेमलाई उनकी श्रीमतीले यस्तै आशयको मेसेज पनि लेख्न थालिन् । दुबैबिच को पहिला सुसाइड गर्ने भन्ने प्रतिस्पर्धा चलिरहेको प्रेमको सुसाइड नोटले बताउँछ । यस्तै अवस्थामा प्रेमले श्रीमतीभन्दा पहिले मर्ने निधो गरे ।

प्रेम लेख्छन्–‘मलाइ बचाउने प्रयास कसैले नगर्नु होला । बाँचे भने फेरि मर्ने नै छु । प्रहरीले पक्राउ गर्यो भने जेलमा नै आत्महत्या गर्नेछु । म क्रान्ति गर्दैछु । म जस्तै केही गर्छु भन्नेलाइ यो देशको सरकारले सहयोग गरोस् । कोही मनकारी–सहृदयी जनहरु हुनुहुन्छ भने मेरो ऋण तिर्न मेरी श्रीमतीलाइ सहयोग गर्दिनुहोला । उनले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा २ छोरीहरु टुहुरा हुनेछन्—प्रेमले सुसाइड नोटमा लेखेका छन् । 

Logo