अपहरणकारीमाथि गोली प्रहार, बनेपाका बालक अपहरणमुक्त

पर्सामा प्रहरीले अपहरणकारीमाथि गोली चलाएको छ । दश दिनअघि बनेपाबाट अपहरणमा परेको एक बालकको उद्धार गर्ने क्रममा अपहरणकारीलाई गोली चलाएको हो ।

नेपाल-भारत सीमा क्षेत्रको खलबा टोलमा गए राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेर १४ वर्षीय बालकलाई अपहरणमुक्त गरेको हो। पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठोरले अपहरणकारीको साथबाट कटुवा पिस्तोल र गोलीसमेत बरामद गरिएको  जानकारी दिए । बालकलाई भारत रक्सौलको हरैया भन्ने ठाउँमा एक घरमा बन्धक बनाएर राखिएको उनले बताए ।

अहिले बालकलाई अभिभावकको साथमा रखिएको छ । प्रहरीले उद्धार गरिएका बालक र गोली लागेका अपहरणकारीको नाम सार्वजनिक गरेको छैन।

खुट्टामा गोली लागेका अपहरणकारीको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।