बक्सिङमा ऐतिहासिक रजत जितेकी सुष्मालाई सरकारले ६ लाख पुरस्कार दिने

बक्सिङमा ऐतिहासिक रजत जितेकी सुष्मालाई सरकारले ६ लाख पुरस्कार दिने


थाइल्याण्डमा सम्पन्न एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुष्मा तामाङलाई सरकारले ६ लाख पुरस्कार दिने भएको छ ।

महिला ४८ केजी तौल समूहमा सुष्माले रजत जितेकी हुन् । फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी थिइन् । त्यसअघि उनले भियतनाम र मंगोलियाका खेलाडीलाई पराजित गर्दै ऐतिहासिक प्रदर्शनका साथ फाइनल पुगेकी थिइन् । एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, मुख्य प्रशिक्षक दीपक महर्जनलाई १ लाख ८० हजार र प्रशिक्षक सन्दिप श्रेष्ठलाई ६० हजार प्रदान गरिनेछ भने संघलाई पनि १ लाख ८० हजार प्रदान गरिने भएको छ ।

च्याम्पियनसिपमा कास्य जितेका विजय बाटा, हेमा राई र त्रिशा जबेगुले समान ३ लाख पाउनेछन् । खेलाडीले कास्य जित्दा मुख्य प्रशिक्षक र संघले समान ९० हजार तथा प्रशिक्षकले ३० हजार पाउनेछन् ।

Logo