हरिबोधनी एकादशीको महत्व र फाइदा

पर्सि अर्थात् कार्तिक २२ गते हरिबोधनी एकादशी । हरिबोधिनी एकादशीलाई एक वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रूपमा मान्ने लौकिक परम्परा छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यो ठूलो एकादशीका नामले परिचित छ । यसै दिनबाट चतुर्मास पूरा हुन्छ ।

हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने दिनका रूपमा लिइन्छ । एकादशीको दिन अन्न ग्रहण गर्नुलाई पाप मानिएको छ । सामान्यतया भगवान विष्णुलाई अक्षता चढाइँदैन । तसर्थ एकादशीका व्रत बस्नेले अन्न ग्रहण गर्दैनन् ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिनबाट भगवान विष्णु सुत्ने, हरिपरिवर्तनी एकादशीका दिन कोल्टो फेर्ने र हरिबोधनी एकादशीका दिन जागा हुने विश्वास गरिन्छ ।

भविष्य पुराणका अनुसार अन्य एकादशीमा भन्दा हरिबोधनी एकादशीको दिनमा गरिने विष्णु भगवानको उपासना धेरै फलदायी हुन्छ । यसैअनुसार हिन्दू धर्मावलम्बीहरूले बिहानै नुवाईधुवाई गरी व्रत बसेर भगवान विष्णुको पूजाआराधना गर्छन् ।

हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरूमा मेला लाग्दछ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानिलकण्ठका साथै उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारयण र शेष नारायणमा विशेष मेला लाग्दछन् । अन्य नदीहरूमा पनि फूल तार्ने काम हुन्छ । ती सबै स्थानमा थुप्रै संख्यामा मानिसहरू भेला भएर नुहाउने, भजनकीर्तन गर्ने तथा फूल तार्ने काम गर्दछन् ।

अरू एकादशीमा व्रत नबस्ने वा बस्न नसक्ने हिन्दू धर्माबलम्बीहरू यो एकादशीका दिन भने व्रत बस्दछन् । ८ वर्ष पूरा भएका ८० वर्षसम्मका अर्थात अशक्तदेखि बाहेकले यस दिन व्रत बस्नैपर्ने पौराणिक कथन छ ।

चार महिनाअघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आफ्नो घरमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीको दिनमा मठ सिंगारेर विशेष पूजा गरिन्छ । हरिबोधनी एकादशीको दिनमा प्रसादको रूपमा विशेषगरि सखरखण्ड, पिँडालु, बदाम, अमला, केरा आदि कन्दमुल र फलफूलको भोग लगाइन्छ, भगवानलाई चढाइन्छ र प्रसादका रूपमा सेवन गरिन्छ । उक्त दिन बेलुका समेत अन्न खाइँदैन ।

भोलिपल्ट द्वादशीका दिन तुलसीको पूजनसँगै चतुर्मासभरि विष्णुको प्रतीक तथा तुलसी देवीका रूपमा पूजा गरिएको तुलसी विसर्जन गरिन्छ । हवन गरिन्छ, न्वागीका रूपमा नयाँ अन्न खाइन्छ, विशेष प्रसादका रूपमा दहीचामल खाइन्छ । हरिबोधनी एकादशीको भोलिपल्ट पर्ने द्वादशी न्वागी खाने दिनका रूपमा चिनिन्छ । उक्त दिन न्वागी खान नभ्याए त्यसपछिको पञ्चमीका दिनसम्म पनि न्वागी खाने चलन छ ।

एकादशी व्रतको फाइदा

एकादशीको व्रतले धार्मिक एवं सामाजिक हिसाबमा मात्र नभई वैज्ञानिक हिसाबले पनि महत्व राख्दछ ।

हरेक ४० देखि ४८ दिनमा मानव शरीर मण्डल नामक एक चक्रबाट गुज्रन्छ । यही चक्रमा यस्तो खास तीन दिन आउँछ, जुनबेला शरीरलाई भोजनको आवश्यकता पर्दैन । उक्त दिन पहिचान गर्न सके ती दिनमा खानपान गरिरहनु पर्दैन । त्यतिबेला शरीरले भोजनको माग गर्दैन । यो जैविक पद्धति मानवलाई स्वस्थ राख्न सघाउने प्राकृतिक उपाय हो ।

शारीरिक तन्त्रको यो चक्रलाई धेरैजसोले पहिचान गर्न सक्छन् । यसका लागि उसले आफ्नो दिमागबाट यो कुरा निकाल्नुपर्छ कि, कति क्यालोरी, कति प्रोटिन र कति मिनरल्स लिनु जरुरी छ । मान्छेले आफ्नो शरीरको भाषा बुझ्न सके यी तीन दिन सहजै पहिचान गर्न सक्छ ।

तर, हिजोआज जीवनशैली छाडा भएका कारण मानिसको जागरुकता हराएको छ, उसले शरीरको भाषा बुझ्न छाडेको छ । त्यसै भएकाले अनुमानित समय विचार गरेर एकादशीका दिनलाई व्रत बस्ने दिन निर्धारण गरिएको हो ।

४८ दिनमा तीनवटा एकादशी आउँछ । यो एक संकेत हो । एकादशी एक यस्तो तिथि हो, जतिबेला पृथ्वी स्वयं एक खास दशामा हुन्छ । यस दिन शरीरलाई हल्का राख्नुपर्छ । शरीरलाई शुद्ध र जागरुक अवस्थामा राख्नुपर्छ । त्यसैले व्रत बस्ने विधान कायम गरिएको हो ।
व्रत बस्ने विविध तरिका छन् । अन्न त्याग, अन्न र फलफूलको त्याग, अन्न र फलफूल मात्र नभई जलको समेत त्याग, दूध मात्र पिउने, पानी मात्र पिउने आदि थुप्रै प्रकारका व्रतोपवासका विधि छन् । तीमध्ये आफ्नो शरीरलाई अनुकूल हुने गरी, आफ्नो शारीकि अवस्था विचार गरेर व्रत बस्नु लाभदायी हुन्छ ।

कुनै पनि कुरामा जबर्जस्ती गर्नु उचित मानिँदैन । तसर्थ एकादशीमा व्रत बस्ने नाममा आफैंलाई हानि हुने गरी भोको बस्नु उचित हुँदैन । कति समय र कसरी भोको बस्दा शरीर र मनलाई राम्रो गर्छ त्यो पत्ता लगाउनुपर्छ ।

यहाँनेर स्मरणीय के छ भने भोको बस्नु र व्रत वा उपवास बस्नु फरक कुरा हुन् । भोको बसेर, अन्न त्याग गरेर वा अनशन बसेर उपवास हुँदैन । उपवासका आफ्नै विधिविधान एवं नियम छन् । कोही मानिस खाएरै पनि उपवास बस्नसक्छ । उपवास वा व्रतमा खानु र नखानुको अर्थ गौण मात्र छ ।