मदन भण्डारी विश्वविद्यालय: मन्त्रालयमा स्थानीयको डेलिगेशन, चलखेल भएको मन्त्रीको स्वीकारोक्ति
"चित्लाङमै स्थापना गरिने मन्त्री पोखरेलको आश्वासन "

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङमा बनाउने भनिएको मदन भण्डारी विज्ञान तथा प्रविधी विश्वविद्यालय अन्यत्र सार्न चलखेल भएको स्वीकार गरेका छन्।

केन्द्रबिन्दु अनलाइनले मदन भण्डारी विज्ञान तथा प्रविधी विश्वविद्यालयका लागि काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ४ मा रहेको एक सय ५६ रोपनी जग्गा दिने निर्णय भएको समाचार प्रकाशन गरेपछि बुधबार मन्त्रालयमा डेलिगेशन गएका  स्थानीय जनप्रतिनिधिहरूको टोलीलाई  मन्त्री पोखरेलले चलखेल भएपनि आफूले सक्दो पहल गर्ने आश्वासन दिएका हुन् ।

मन्त्री पोखरेलले मदन भण्डारी प्राविधीक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिले काम गरिरहेकोको बताउंदै भने, ‘मैले बिधेयक मै  विश्वविद्यालय चित्लाङमा स्थापना गर्ने उल्लेख गरेको छु, भ्रम नपरौं ।’ मन्त्री पोखरेलले  यसरी औपचारिकता निभाएपनि घुमारो शैलीमा चलखेल भएको कुरालाई यसरी प्रष्ट पारे, ‘म भन्दा माथि प्रधानमन्त्रीज्युबाटै स्थानान्तरणको कुरा आएमा कुरा काट्न मिल्दैन, अन्यथा ढुक्क हुनुहोस्।’ मन्त्री पोखरेलले चित्लाङ्बाट विश्वविद्यालय चित्लाङ्बाट अन्यत्र सार्न ‘निक्कै माथि’बाट दबाब आउने गरेको पनि बताए।  आफूले चिनियाँ टोलीलाई चित्लाङ नै उपयुक्त स्थान भएको भनि सिफारिस गरेको बताउंदै उनले चिनियाँ पक्षबाट अहिलेसम्म कुनै जवाफ नआएको समेत जानकारी दिए।

मन्त्री पोखरेललाई थाहानगरपालिकाको तर्फबाट ज्ञापनपत्र समेत बुझाइएको थियो । ज्ञापनपत्र बुझाउन सांसद बिरोध खतिवडा, नगरपालिकाका प्रमुख लवशेर बिष्ट, समितिका अध्यक्ष प्रा डा. राजेन्द्रध्वज जोशी, संविधानसभाका सदस्य सुभाष ठकुरी,  नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम बिडारी, नेकपाका नेताहरु बिष्णुप्रसाद ढकाल, बिष्णु बिष्ट, अरुण रायमाझी, अच्युतमप्रसाद ढकाल, राजु नापित, सानुकाजी गोपाली, पुर्व स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्ट, वडा अध्यक्षहरु लगायत पुगेका थिए ।

 नगरपालिकाको तर्फबाट बुझाइएको अनुरोध पत्र

यो पनि

मदन भण्डारी विश्वविद्यालय कहाँ ? सरकार भन्छ चित्लाङमा, प्राविधिक टोली अध्ययनमै