प्रदेश १ मा बदली, बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने

प्रदेश १ मा बदली, बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने


जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ मा मौसममा आंशिक बदली हुनेछ ।

अहिले बिहान तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । आज राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ।

आइतबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दूई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनुका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ । अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहे पनि यो प्रणाली स्ट्रङ नरहेको मौसमविद्हरूको भनाइ छ । जसका कारण वर्षाको उच्च सम्भावना न्यून छ । 

Logo