नेपालमा हुने विश्वकप छनोटको ‘होम गेम’ खोसियो, भुटानमा गर्ने प्रस्ताव

फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने भएको छ ।

एएफसीको प्रतियोगिता समितिका प्रतिनिधि देङ्ग सिओ लोङ्गद्वारा गरिएको गोप्य निरीक्षण पश्चात प्रतियोगिताका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्डअनुसार रंगशालामा तयार हुन नसकेकोले एएफसीको निर्देशन अनुसार उक्त खेल नेपालमा सञ्चालन नहुने जानकारी गराइएको छ ।

लोङ्ग रंगशालाको स्थिति देखेर असन्तुष्ट भएका थिए । उनले एएफसीको प्रतियोगिता समितिलाई प्रतिवेदन बुझाएसँगै खेल नहुने निश्चित भएको हो ।

निरीक्षक लोङ्गले चेन्जिङ रूमको स्थितिप्रति असन्तुष्टि पोखेका थिए । साथै उनले बन्दै गरेको भिआइपी प्याराफिटका कारण उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको विषयमा समेत प्रश्न गरेका थिए ।

आगामी मंसिर ३ गते खेल हुने तय भए पनि रंगशालाको मापदण्ड नपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) को विज्ञप्तीमा उल्लेख छ ।

खेल भुटानको चाङ्गलिमिथाङ्ग रंगशालामा गर्न फिफा र एएफसीसँग प्रस्ताव गरिएको एन्फाले जनाएको छ ।

२०७२ को भूकम्पले क्षतिग्रस्त दशरथ रंगशाला अहिलेसम्म पूर्ण रूपले तयार भइसकेको छैन । खेलाडीका लागि आवश्यक चेन्जिङ रूम बनिसकेको छैन । खेल आउन १२ दिन बाँकी रहेको अवस्थामा चेन्जिङ रूम तथा मैदान पूर्ण तयार छैनन् । भिआइपी प्याराफिटमा छानो हालिएको छैन । छानोका लागि हालिने १९ वटा पिल्लरमध्ये अहिलेसम्म ३ वटा मात्र ठड्याइएको छ ।

चीनमा तयार भएर यहाँ जडान गरिने प्याराफिट अझै नेपाल ल्याइएको छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एयर कार्गो गरेर प्याराफिट ल्याउने प्रयास गरिरहेको छ ।

दशरथ रंगशाला समयमै बन्न नसक्दा नेपालले सुरूमै अवे म्याच खेल्नु परेको थियो । नेपालले पहिलो चरणमा चारवटै अवे खेल खेलिसकेको छ । जसमध्ये नेपालले तीन खेलमा हार र एक खेलमा जित हात पारेको छ ।

पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको थियो । नेपाल तेस्रो खेलमा अस्ट्रेलियासँग ५–० र चौथो खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो । नेपाल ३ अंकका साथ समूहको चौथो स्थानमा छ ।
विश्वकपको अघिल्लो चरणको छनोटमा पुग्न कम्तीमा दोस्रो र एएफसी कपको अघिल्लो चरणमा पुग्न कम्तीमा चौथो हुनु पर्नेछ । रंगशाला तयारी नहुँदा नेपालले होम ग्राउन्डको फाइदा लिँदै दोस्रो चरण पुग्ने अवसर गुम्ने त होइन ?

एन्फाको विज्ञप्ती :-