मन्त्री किराँतीको निर्देशन- लुम्बिनी मागी खाने भाँडो होइन, अपवित्र कर्म नगर्नूस्

मन्त्री किराँतीको निर्देशन- लुम्बिनी मागी खाने भाँडो होइन, अपवित्र कर्म नगर्नूस्


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् । 

आईतवार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्ने निर्देशन दिएका हुन् । उनले लुम्बिनी जस्तो पवित्र स्थलको काम इमान्दारिताका गर्न आग्रह गरे । 

मन्त्री किराँतीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब भने योजना अनुसारको काम चाहिने बताए । उनले नेपालको संविधान कानून अनुसार संरचनाहरु निर्माण भएको भन्दै संरचनाहरुमा कर्मचारी भएर पनि काम किन नभएको ? भन्दै प्रश्न गरे । 

उनले लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार सात दिन,एक महिना, तीन महिना,६ महिना र एक वर्षमा के गर्ने भन्ने कार्ययोजना बनाउन निर्देशन दिए । गौतम बुद्धको जन्मथलो लुम्बिनी मागि खाने भाँडो नभएर बौद्ध धर्मलम्वीहरुको नाभी तथा ढुकढुकी भएको उनले बताए । 

मन्त्री किराँतीले कर्मचारीहरुलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गरे । उनले नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने,पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको बताए । 
 
उनले लुम्बिनी विकास कोषको काम भएन भनेर कर्मचारी सरुवा गरेर रमिता नदेखाउने बताए । उनले कर्मचारी सरुवा तथा थर्काउने पुरानो प्रवृत्ति भएको भन्दै वर्तमान सरकार कर्मचारीहरुबाट क्यालेण्डर अनुसार कामको परिणाम ल्याउने बताए । कर्मचारीहरुले जस्केला वा झ्यालबाट छिरेर काम गर्ने कोशिस नगर्न पनि उनले आग्रह गरे । 

कार्यक्रममा पर्यटन सचिव सुरेश अधिकारीले लुम्बिनी विकास गुरुयोजना भन्दा बाहिर संरचना निर्माण भएको स्वीकार गरे । उनले गुरुयोजना भन्दा बाहिरका संरचना बनाउनुपर्ने बाध्यता भएपनि कतिपय बनाउनु नपर्ने संरचना बनाइएको बताए । लुम्बिनी विकासको गुरुयोजना निर्माणमा ढिलाई भइरहेको पनि उनले बताए । 

Logo