रूप ज्योति तथा उनकी छोरी सुरुचि पक्राउ

हाउजिङका नाममा २ करोड ७० लाख रूपैयाँ ठगी गरेको आरोप लागेका पूर्व अर्थ सहायक मन्त्री एवं व्यापारी रूप ज्योतिकी छोरी सुरुचि ज्योति पनि पक्राउ परेकी छन् ।

सुरुचिलाई शुक्रवार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

रूप ज्योतिलाई भने प्रहरीले बिहीवार नै पक्राउ गरिसकेको छ । उनी सिंगापुरबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिका– २६ गल्कोपाखाका विज्ञेन्द्रकृष्ण मल्लले दिएको उजुरीका आधारमा ठगी मुद्दामा उनीहरू पक्राउ परेका हुन्

रूप ज्योतिलाई पक्राउ गर्न सर्वोच्च अदालतले सोमवार बाटो खोलिदिएको थियो । यसअघि ठगी मुद्दामा निजलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश कार्यान्वयन नगर्न माग गर्दै रूप ज्योतिका तर्फबाट सर्वोच्चमा निषेधाज्ञासम्बन्धी रिट दायर भएको थियो ।

गत सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूप ज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएपछि जिल्ला अदालतको आदेश सदर भएको थियो ।