नेपालले एमसीसीसँग २ सय ८ रनको पराजय बेहोर्‍यो

एमसीसी विरुद्धको तीन दिवसीय खेलमा नेपालले २ सय ८ रनकाे हार ब्यहाेरेकाे छ । पहिलो इनिङमा कम स्कोरमा अलआउट भएको नेपालले दोस्रो पारीमा पनि खराब ब्याटिङ गर्‍यो । जसका कारण नेपाल एक सय ८४ रनमा अलआउट भयाे ।

नेपालका लागि साेमपाल कामीले सर्वाधिक ५१ रन बनाए भने राजु रिजालले ३१  र सन्दिप लामिछानेले २५ रन बनाए ।

कीर्तिपुर क्रिकेट मैदानमा नेपालले सुरुवात राम्रो गर्न सकेन । नेपालको स्कोर २४ रन हुँदा कप्तान ज्ञानेन्द्र मल्ल ब्यक्तिगत ६ रनमा आउट भए । त्यसपछि राजु रिजाल पनि व्यक्तिगत ३१ रनमा पेभेलियन फर्किएपछि नेपालले ५२ रनमा दोस्रो विकेट गुमायो । शरद भेषवाकर १५ रनमा आउट भए । त्यसपछि क्रिजमा गएका दिपेन्द्रसिंह ऐरी पनि खाता खोल्न नपाउँदै आउट भए । जसका कारण नेपालले ६९ रनमा चौथो विकेट खेर फाल्यो ।

नेपालको विकेट झर्ने क्रम यतिमै रोकिएन । पहिलो पारीमा राम्रो प्रदर्शन गरेका विनोद भण्डारी पनि खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले पाँचौ विकेट गुमायो । लगत्तै आरिफ शेख १८ रनमा आउट भएपछि नेपालले ७८ रनमा छ विकेट गुमायाे । त्यसकाे लगत्तै पवन सर्राफ पनि डकआउट भएपछि नेपालको आठाै‌ विकेट खस्यो ।

नेपालकाे विकेट झर्ने क्रमसंगै करण केसी १८ रनमा पेभेलियन फर्किदा नेपालले एक सय २४ रनमा ८ विकेट गुमायाे । त्यसपछि सन्दिप लामिछाने २५ रनमा आउट भएपछि नेपालले १७४ रनमा ९ विकेट गुमायाे । अन्तत: नेपाल एक सय ८४ रनमा अलआउट भयाे । नेपालका लागि साेमपाल कामीले मात्र अर्धशतकीय पारी खेले ।

एमसीसीले पहिलो पारीमा तीन सय ६४ रन बनाएको थियो । जवाफमा ओर्लेको नेपाल एक सय ५३ रनमा अलआउट भएको थियो । त्यसपछि एमसीसीले दोस्रो पारीमा थप एक सय ८१ रन बनाएर पारीको घोषणा गरेपछि नेपालले तीन सय ९३ रनको विशाल लक्ष्य पाएको थियो । तर नेपालले दुवै पारीमा असफल भई पराजय बेहोर्‍यो ।