भारतद्वारा नेपालगञ्जसहित विभिन्न नाकाहरू एक्कासी बन्द

भारतले नेपालगञ्ज, कपिलवस्तु लगायतका नाका बन्द गरेको छ । आज (शनिबार) भारतको सर्वोच्च अदालतले अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले आज बिहानैबाट नाका बन्द गरिएको भारतीय पक्षले जनाएको छ ।

पूर्व सूचना दिँदा घुसपैट हुन सक्ने भन्दै एक्कासी आज बिहानबाट नाका बन्द गरिएको भारतीय सुरक्षाकर्मीले जनाएका छन् । एक्कासी नाका बन्द हुँदा भारततर्फ जान लागेका नेपाली अलपत्र परेका छन् । भारतीय पक्षले नेपालगञ्जबाट बिरामी बोकेका एम्बुलेन्स बाहेक कसैलाई प्रवेश गर्न दिएको छैन ।

त्यस्तै राम जन्मभूमि–बाबरी मस्जिद भूमि विवाद मुद्दामा सर्वोच्च अदालतको फैसला आउनुपूर्व भारतीय केन्द्र सरकारले सबै राज्यसँग अलर्ट रहन र संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरेको छ । भारतको सबैभन्दा संवेदनशील, धार्मिक र राजनीतिक मुद्दामध्ये एक मानिएको राम जन्मभूमि–बाबरी मस्जिद विवादमाथि भारतका मुख्य न्यायाधीश रंजन गोगोईको नेतृत्वमा सर्वोच्च अदालतले आज फैसला सुनाउने छ । अयोध्यामा मन्दिर–मस्जिद विवादलाई लिएर भारतीय सर्वोच्च अदालतले गर्ने फैसलालाई लिएर अयोध्या लगायत उत्तर प्रदेशमा कडा सुरक्षा व्यवस्था लागू गरिएको छ । भारतीय सरकारले अर्दसैनिक बलका करिब ४० हजार सुरक्षाकर्मीले भारतमा गस्ती गरिरहेका छन् ।

भारतले यसै विषयलाई लिएर नेपाल सरकारसँग सुरक्षा व्यवस्था गर्न र नाकामा हुनसक्ने सुरक्षा संवेदनशीलताप्रति सजग गराएको छ ।