क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा

क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा


नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । मंगलवारबाट पोखरामा जारी क्यानको बोर्ड बैठकले सो निर्णय गरेको हो । 

किशोरी बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएपछि क्यानले सन्दीपलाई भदौ २३ मा निलम्बन गरेको थियो । 

गत भदौ ५ गते १७ वर्षीय किशोरीलाई होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसपछि क्यारेबियन लिग खेल्न जमैका गएका उनले असोज २० गते नेपाल आएर प्रहरीसमक्ष आत्मसमपर्ण गरेका थिए । 

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि परेको पुनरावेदनको मुद्दामा उच्च अदालत पाटनले दुई साता अघि विभिन्न शर्तसहित २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो । 

त्यसपछि क्यानले उनको निलम्बन फुकुवाबारे छलफल थालेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पनि नेपालको कानुनले मान्यता दिए सन्दीपलाई खेलाउन समस्या नहुने जनाइसकेको छ । तर, आगामी फेब्रुअरी १४ बाट टियु क्रिकेट मैदानमा आयोजना हुने नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिदेशीय एकदिवसीय सिरिजमा भने उनी समेटिएका छैनन् । 

Logo